धरान : पूर्वी नेपालमा गत वर्ष भन्दा यो वर्ष पानी चराको सङ्ख्या १६ प्रतिशतले वृद्धि भएको छ ।

कोसी वर्ड सोसाइटीको आयोजनामा भर्खरै सम्पन्न सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चरा गणना गर्दा गत वर्षको तुलनामा १६ प्रतिशतले वृद्धि भएको पाइएको कोसी पक्षी समाजका अध्यक्ष तथा पूर्वी नेपालका जलपंक्षी गणनाका संयोजक चरा विज्ञ सञ्जीव आचार्यका अनुसार गत वर्ष पूर्वी नेपालमा ६१ प्रजातिका पानी चरा भेटिएकोमा यो वर्ष ६२ प्रजातिका १९ हजार ५ सय ४४ पानी चराको गणना गरिएको छ ।

Chara-Garana-2

सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराहरूको गणनाको क्रममा सुनसरीको बर्जु तालमा सबै भन्दा बढी सङ्ख्यामा पानी चरा भेटिएको चरा विज्ञ आचार्यले बताए । उनका अनुसार बर्जु तालमा मात्रै ३७ प्रजातिका ११ हजार २५ पानी चरा गणना गरिएको छ ।

यस्तै कोसी क्षेत्रमा चतरा पुल देखि कोशीटप्पु हुँदै कोसी ब्यारेज सम्म ५५ प्रजातिका ७ हजार ३ सय ८९ पानी चराको गणना गरिएको छ । सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराहरूको गणनाको क्रममा यस पटक सिलसिले हाँस ५ हजार ३ सय ५२ वटा, विजुलागैरी हाँस ५ हजार ३ सय ४१ वटा भेटिएको चरा विज्ञ आचार्यले बताए ।

Chara-Garana-3

यस पटकको गणनामा सिलसिले हाँस र विजुलागैरी हाँस प्रजातिको पानी चरा बढी भेटिएको छ । गतबर्षको तुलना गर्दा १ प्रतिशतले चराको सङ्ख्या बढेको पाइए पनि विगतका वर्षहरूको तुलनामा यस पटक कम चरा भेटिएका हुन् । तर यस पटक सबै भन्दा बढी सुनसरीको बर्जु तालमा पानी चराको सङ्ख्या उल्लेख्य भेटिएको चरा गणकहरूले बताएका छन् ।

Chara-Garana-1