साउन महिनाको अन्तिममा स्वास्थ्यमा केही समस्या देखिएला झैँ भयो । कार्यालयबाट घर पुग्ने बित्तिकै शरीरमा असहज महसुस भइरहेको थियो । कतै ज्वरो पो आयो की भनेर थर्ममिटरले शरीरको तापक्रम परीक्षण गरे । सामान्य ९७ डिग्री देखायो । आँखाहरू पनि कता कता बिझाए जस्तो अनि शरीर असामान्य जस्तै भएकोले अरू बेलाको तुलनामा म त्यो दिन चाँडै ओक्षान लागे ।
अरू बेला रातिको १०, ११ बजाउने मान्छे त्यो दिन म साढे ८ मै निदाए । एक घण्टा निदाएर ब्युँझिदा म पुरै काँपी रहेको थिए । पुरै धामी जस्तै ज्यु काँपिरहेको थियो । फेरि तापक्रम परीक्षण गरे । ९८ डिग्री ज्वरोको पारो चढिसकेको रहेछ । सामान्य साईनेक्स औषधी खाएर त्यतिकै सुते । राति मलाई निकै गाह्रो महसुस भयो । बिहान फेरि ७ बजेको समाचार भ्याउनुपर्ने भएकोले जसोतसो निदाउने कोसिस गरे । निदाउन सकिरहेको थिइन । बिहान साढे ४ बजे तिरै ज्वरोले शिथिल भएको शरीर व्युझियो । म बिरामी भएको म सम्बन्धित सञ्चार गृहका प्रमुखहरूलाई जानकारी गराए । अरू केही समस्या थिएन । ज्वरो केही बढेको थियो । ९९ को हाराहारीमा ज्वरो हुँदै म अफिस निस्किए ।
बिहान ७ बजेको समाचार र १४ नम्बर वडाको सेरोफेरो कार्यक्रम जसोतसो सिध्याएर घर आए । घर आएपछि मज्जाले निदाए । सिटामोल बाहेक केही खाइन । यसरी नै तीन दिन बिताए । ज्वरो अलिकति पनि घटेन । ९९ देखि १०१ सम्म रहिरह्यो । साथीभाइको सल्लाह र मेरो मनले पनि मानेन र धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेतालाई फोन गरे । मलाई कोरोना परीक्षण गर्नुपर्ने भयो एन्टिजेन परीक्षण गर्ने कसैलाई घरैमा पठाइदिन अनुरोध गरे । त्यसको केही समय पछि स्वास्थ्यकर्मी चन्द्रकला राई मेरै निवासमा आएर एन्टिजेन परीक्षण गराए । रिपोर्ट कोरोना पोजेटिभ देखियो ।
म सुरु देखिनै आइसोलेटेड थिए । अव प्रमाणित भए पछि थप आइसोलेटेड हुनुपर्ने भयो । म छुट्टै कोठामा जसोतसो व्यवस्थापन गरेर बसेको आज ५ दिन पुरा भएको छ । मेरो स्वास्थ्यमा त्यस्तो कुनै समस्या छैन । अक्सिमिटरले अक्सिजनको लेबल बिहान बेलुका हेर्छु । ९९ देखाउँछ अक्सिमिटरले । ज्वरो छैन । गन्ध हल्का हराएको छ भने स्वाद हराएको छैन। कोरोना विरुद्धको कोभिसिल्ड खोपको दुवै डोज लगाई सकेको मलाई कोरोना सङ्क्रमण भएकोले गर्दा धेरैजसो साथीहरूले कोरोना विरुद्धको खोप लगाएर पनि त नहुने रहेछ नि ? भनेर प्रश्न गरे ।
म सङ्क्रमित भएको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेता र वरिष्ठ कविराज रामबाबु यादवलाई टेलिफोनबाट गराए । म सम्बन्धित रहेको सञ्चार गृहहरूमा पनि जानकारी गराए । अनि फेसबुकमा पनि लेखेर जानकारी गराए । त्यसको केही समय पछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक तथा मेडिसिन विभागका प्रमुख डा. सञ्जीव शर्माको समूहबाट तयार गरिएको एउटा फारम मेरो फेसबुक म्यासेन्जरमा ममित राई भाईले पठाइदिए । त्यस पछि मैले सोही फारम अनुसार औषधी पसलमा औषधी मगाएर खान थाले । भोलिपल्ट मेरो अनुहारमा एलर्जी देखा परो । डा. सञ्जीव शर्मासँग फोनमा कुराकानी भयो। डाक्टरसावले भन्नुभए जस्तै गरी औषधी प्रयोग गरे अहिले एलर्जी बिस्तारै ठिक हुँदै गएको छ ।
तर स्थानीय सरकार मातहतको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाको भने अहिले सम्म कुनै केही परामर्श र एक कल फोन पनि आएको छैन । म त स्वास्थ्य महाशाखासँग नजिक हुने एउटा व्यक्ति भएर त यस्तो महसुस गरिरहेको छु भने अरू नगरवासीले स्थानीय सरकारबाट कोभिड सङ्क्रमण हुँदा के अपेक्षा राख्लान् र ? स्थानीय सरकारको कोभिड नियन्त्रण र न्यूनीकरण शीर्षकको बजेटहरू कहाँ कता जादोरहेछ ? एउटा नगरवासीलाई कोरोना सङ्क्रमण भएको रिपोर्ट नगरपालिकामा दर्ता भएपछि उसको अवस्था कस्तो छ ? उ कसरी आइसोलेटेड भएर बसेको छ ? स्वास्थ्य मापदण्ड कत्तिको पुरा गरेको छ ? यसबारेमा जानकारी लिनुपर्छ कि पर्दैन ? यदि स्थानीय सरकारको जिम्मेवारी कोरोना सङ्क्रमितको तथ्याङ्क मात्रै दर्ता गर्दै बस्ने हो भने मेरो केही भन्नु छैन।
पछिल्लो समय धरानमा पुर्णलकडाउनको निकै चर्चा भयो अन्ततः आफ्नो निर्णयबाट स्थानीय सरकार पछि हट्नु पर्यो । दीर्घकालीन सोच र चिन्तनको कमी स्थानीय सरकार धरान उपमहानगरपालिकामा देखिएको छ । धरानमा अहिले पनि दैनिक ५० को हाराहारीमा सङ्क्रमितहरू थपिइरहेका छन् । अझ हरेक घर घरमा बिरामी छन् । नयाँ थपिएका बिरामीहरूको तथ्याङ्क सङ्कलन गरेर दर्ता गरेर धरानमा कोरोना नियन्त्रण र न्यूनीकरण हुन्छ ? यदि साँच्चै कोरोना सङ्क्रमण नियन्त्रण र न्यूनीकरणका लागि स्थानीय सरकार लाग्ने हो भने हरेक वडा वडामा रहेका स्वास्थ्य सेविकाहरूलाई परिचालन गरेर कोरोनाको लक्षण देखिएका बिरामीहरूको तथ्याङ्क लिएर आवश्यकता अनुसार परीक्षण गरी आइसोलेटेड गरेर जनचेतनामूलक अभियान किन सञ्चालन नगर्ने ? कोरोनाको चेनव्रेक गर्न लकडाउन मात्रै हो त विकल्प ? यदि होइन भने धरान उपमहानगरपालिकाले यसबारेमा समयमै आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ । यदि यसो भयो भने मात्रै धरानमा कोरोनाको चेन ब्रेक होला नत्र महामारीले धरानलाई पुरै छोप्ने छ ।
अहिले धरानका हरेक घरमा एक न एक बिरामी छन् । त्यस्ता बिरामीहरूको तथ्याङ्क वडा वडा र टोल विकास समितिहरूबाट लिनुपर्छ । यदि कोही सङ्क्रमित छ भने उसलाई स्वास्थ्य मापदण्ड सम्बन्धी स्वास्थ्य परामर्श स्वास्थ्य महाशाखाबाट हुनुपर्छ । के गर्ने ? के नगर्ने ? भन्नेबारेमा अलिकति मात्रै स्वास्थ्य महाशाखाले सुसूचित गर्न सक्यो भने सङ्क्रमित बिरामीले पनि स्वास्थ्य मापदण्ड पालना गर्नेछ । सङ्क्रमित कसरी आइसोलेटेड भएको छ भन्ने बारेमा अनुगमन स्वास्थ्य महाशाखाबाट भयो भने त्यहाँबाट पनि कोरोना सङ्क्रमणको जोखिम न्यूनीकरण हुन्छ । तर खोइ स्थानीय सरकार मातहतको स्वास्थ्य महाशाखाको भूमिका ? के खोप अभियान चलाउनु मात्रै हो जिम्मेवारी महाशाखाको ? स्थानीय सरकार प्रमुखले पनि सोच्नुपर्ने बेला भएको छ ।
विश्वलाई आक्रान्त पारेको यो महामारीबाट जोगिन र जोगाउन स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका हुन्छ । यसबारेमा स्थानीय सरकारको जिम्मेवार निकायले आम नागरिकलाई जिम्मेवार बन्न र बनाउन सिकाउनुपर्छ । यदि यसो भएन भने महामारीको यो लडाइँमा ठुलो क्षति हुन सक्छ ।
क्रमशः ...