इटहरी : विद्यालय व्यवस्थापन समितिको तर्फबाट इटहरी उपमहानगरपालिकाको नगर शिक्षा समितिमा चयन भएका कोविदजंग कार्कीले राजीनामा दिएका छन् । नगर प्रमुख संयोजक रहने शिक्षा समितिमा राष्ट्रिय माध्यमिक विद्यालयका अध्यक्ष कार्कीले राजीनामा बुझाएका हुन् ।
शिक्षक र विद्यालय व्यवस्थापन समितिबाट सदस्य मनोनीत गर्ने व्यवस्था अनुसार कार्की दुई महिना अगाडी सदस्य बनेका थिए । जनता माविमा देखिएको विवाद र अन्य विषयमा छलफल र परामर्श नभएको भन्दै राजीनामा दिएको उनको भनाइ छ । नगर शिक्षा समितिले निर्णय गरे पनि आफूलाई त्यस विषयमा सामान्य जानकारी समेत नहुने भएकाले राजीनामा दिएको कार्कीले बताए ।
यस बिचमा जनता माविका प्रधानाध्यापक र लेखापालले समेत राजीनामा दिएका छन् । काशीनाथ दंगाललाई चौथो पटक अस्थायी अध्यक्ष बनाएपछि व्यापक दबाब भएकाले राजीनामा दिएको बताएका छन् । नयाँ समिति आएदेखि नै विभिन्न बहानामा दबाब दिने र जिम्मेवारीबाट पन्छिन आग्रह गरेपछि राजीनामा दिएको उनीहरूको भनाइ छ । काम गर्ने सहज परिस्थिति नबनेपछि नैतिकताको आधारमा राजीनामा दिएको प्रधानाध्यापक पशुपति सिग्देलले बताए ।
केही स्वार्थी समूहले आफ्नो उद्देश्य पुरा गर्न आफूलाई हटाइएको लेखापाल सुरेश खड्काले उल्लेख गरे । आर्थिक वर्षको अन्त्यमा सह लेखापाल लाई हस्ताक्षर परिवर्तन गराउने निर्णय गरेपछि उनले पद छाडेको बताए । नमिल्ने विषयमा समेत हस्ताक्षर गर्न बाध्य बनाउने गरेको र नमानेपछि आफूलाई हटाइएको उनको गुनासो छ ।
दंगाललाई अध्यक्ष बनाएपछि अभिभावक र स्थानीयले विरोध जनाएका थिए । लामो समय एकै व्यक्तिले एउटा संस्थाको नेतृत्व गर्दा भ्रष्टाचार बढ्ने अभिभावकहरूले बताइरहेका छन् ।









































































