धरान : विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीको कार्यकक्ष खोलिएको विषयमा फेरि आन्दोलन चर्किएको छ ।
आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सर्वोच्च अदालतले गरेको आदेशको पालना गरी उत्प्रेरणा आदेश सकुर्लर जारी गरेको थियो । गएको मङ्सिर २१ गते सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरी विभिन्न विरोध जन्य गतिविधि गर्न नहुने भनेको थियो ।

सोही अनुसार आज अदालतको आदेशलाई कार्यान्वयन गर्नका लागि प्रहरीले पदाधिकारीको कार्यकक्ष खोलेको थियो । तर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुद्धिकरण अभियान संघर्ष समितिले भने सिनेटको बैठक बसेर निर्णय नगरुन्जेल सम्म उपकुलपतिलाई कार्यकक्षमा बस्न नदिने भन्दै आन्दोलित भएको संघर्ष समितिको संयोजक डा. एसपी रिमालले बताए । आन्दोलनकारी र प्रहरीबिच केही समय घम्साघम्सी समेत भएको थियो ।

आज प्रतिष्ठानले सर्वोच्च अदालतबाट जारी अन्तरिम आदेश नेपालको संविधान एवं नियम कानुनको परिधिभित्र रही अनिवार्य रूपले पालना गर्नु हामी सबैको कर्तव्य हुने भएकोले उक्त उत्प्रेषण आदेशको बर्खिलाप गई सम्मानित सर्वोच्च अदालतको अपहेलन हुने कुनै पनि प्रकारको कार्य नगर्न नगराउन तथा सर्वोच्च अदालतको आदेशको पूर्ण रूपले पालना गर्न गराउन प्रतिष्ठानका सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी एवं प्रतिष्ठानमा रहेका सम्पूर्ण सङ्घ सङ्गठनहरूलाई निर्देशानुसार अनुरोध गरिन्छ भनिएको थियो ।

उपकुलपति कार्यकक्षमा प्रवेश गरेको भन्दै आन्दोलनकारीले नाराबाजी गर्दै गेटमा रोक्न खोजेका थिए । प्रहरीको सुरक्षा घेरामा आएका उपकुलपति डा. ज्ञानेन्द्र गिरी कार्यकक्षबाट बाहिरिए पछि आन्दोलनकारीहरूले पनि आजको आन्दोलन स्थगित गरेका छन् । भोलि ८ बजे पुनः आन्दोलन गर्ने गरी आन्दोलन स्थगित गरेका हुन् ।
प्रतिष्ठानका चारै जना पदाधिकारीको कार्यकक्षमा गत असार १६ गतेदेखि तालाबन्दी जारी छ । आन्दोलनकारीहरूले पदाधिकारीहरूको राजीनामाको माग गर्दै तालाबन्दी गरेका थिए । त्यस विरुद्ध नवराज विष्ट नामका व्यक्तिले नेपाल सरकार, गृह मन्त्रालय सिंहदरबारलाई विपक्षी बनाउँदै सर्वोच्चमा रिट निवेदन दिएका थिए ।

सोही रिटको सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश दिएको हो । सर्वोच्चले प्रतिष्ठानमा कुनै संघसंगठनबाट तालाबन्दी, घेराउ नगर्न नगराउन पनि आदेश दिएको थियो ।





































































