हेटौंडा : राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गरेका छन् ।

पार्टीमा सैद्धान्तिक विचलन आएको र गलत प्रवृत्तिलाई सुधार गरेर बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने चाहना भए पनि सुनुवाइ नभएकाले आफूले राप्रपा छाडेका उनले बताएका छन् ।मंसिरको अन्तिम साता भएको पार्टी महाधिवेशनमा अध्यक्षमा पराजित भएसँगै थापा असन्तुष्ट रहँदै आएका थिए । पूर्वअध्यक्षसमेत रहेका थापा नयाँ राजनीतिक दलको घोषणाको तयारीमा छन् ।

थापाले पूर्व राजा ज्ञानेन्द्र शाहले महाधिवेशनको निर्वाचन प्रक्रियामा हस्तक्षेप गरेका कारण अध्यक्षमा आफू पराजित भएको आरोप लगाउँदै आएका छन् । पूर्व राजाको भूमिकाको बारेमा पार्टीले छानबिन गर्नुपर्ने र त्यस्तो अवस्थामा आगामी दिनमा दोहोरिन नदिन पार्टीले ठोस कदम चाल्नुपर्ने माग थापाको छ ।