इटहरी : प्रदेश १ को एक मात्र महानगरपालिका विराटनगरमा ५ वर्षको अवधिमा भौतिक निर्माणको क्षेत्रमा अब्बल देखिएको छ । जनप्रतिनिधिको ५ बर्से कार्यकालको समीक्षामा प्रदेश १ को राजधानी समेत रहेको विराटनगरले औषत भन्दा माथि उपलब्धि हासिल गरेको छ । 
पाँचबर्ष अगाडी साँघुरा र कच्ची सडकहरू फराकिला र पक्की भएका छन् । महानगरले उपलब्ध गराएको तथ्याङ्क अनुसार १५० किलोमिटर सडक निर्माण गरिएको छ । छ हजार घर समेटिने गरी ढल प्रणाली सहित फोहर मैला प्रशोधन केन्द्र निर्माण गरी सञ्चालन गरिएको उल्लेख गरिएको छ । 
जनप्रतिनिधिको कार्यकाल सकिनै लाग्दा जापान सरकारको सहयोगमा खानेपानी आयोजना सुरु हुने भएको छ । जापान सरकारले अनुदानको रूपमा दिएको २ अर्ब ६१ करोड रकम विराटनगर महानगरपालिकाको खानेपानी आयोजनामा खर्च हुने भएको हो । 
सडक पूर्वाधारलाई व्यवस्थित गर्ने क्रममा निजी क्षेत्र सँगको सहकार्यमा बस टर्मिनल निर्माण गरेको छ । बसपार्कमै होटेल तथा रेस्टुरेन्ट चलाउन मिल्ने गरी बसपार्क भवन बनाएर आन्तरिक आम्दानीलाई बढाउने महानगरको लक्ष्य छ । 
५ वर्षको अवधिमा आधुनिक तथा सुविधा सम्पन्न वडा कार्यालयहरू निर्माण गरिएको उनको भनाई छ । त्यसका साथै मदरसा, गुरुकुल तथा सामुदायिक विद्यालयहरूको भौतिक, प्राविधिक तथा शैक्षिक स्तरोन्नति गरिएको पराजुलीले जानकारी दिएका छन् । 
अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्ने वातावरण निर्माण गरिएको भन्दै उनले पोखरिया माध्यमिक र आदर्श माध्यमिक विद्यालयमा अपाङ्गमैत्री भवनसहित समावेशी शिक्षा कक्षा सञ्चालन गरिएको उनको दाबी छ । महानगर बहुप्राविधिक शिक्षा सञ्चालन गरिएको छ उनले सुनाए । 
नेपालमा सर्वप्रथम रेडियो (प्रजातान्त्रिक रेडियो) सञ्चालनमा ल्याउने तारणिप्रसाद कोइरालाको स्मृतिमा सञ्चार ग्राम निर्माण भएको छ । त्यस्तै साहित्यिक क्षेत्रमा योगदान पुग्ने गरी आरोहण गुरुकुल थिएटरको निर्माण गरिएको मेयर भीम पराजुलीले बताए ।
नेपालमै पहिलो पटक महिला साफ फुटबल टुर्नामेण्ट आयोजना गरेको उनले प्रष्ट पारे । त्यसका अलावा खेलकुद प्रतियोगिता सञ्चालनका पूर्वाधार निर्माण भएका छन् । महानगर आवास कार्यक्रमअन्तर्गत ३२ सुकुम्वासीहरूका लागि आवास निर्माण सम्पन्न भई हस्तान्तरण भइसकेको छ । महानगरपालिकाको अपाङ्गमैत्री कार्यालय भवन पुनर्निर्माणको काम धमाधम भइरहेको छ ।
घरदैलोमै कोभिडको स्वाब सङ्कलन, अक्सिजन सिलिण्डरको उपलब्धता तथा राहत कार्यक्रमलाई उनले उपलब्धिको रूपमा राखेका छन् । 
"८४ वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई महानगरपालिकाले १ हजार पोषण भत्ता वितरण गर्ने व्यवस्था गरेको छ ।  ‘छोरी बचाउ छोरी पढाऊ’ कार्यक्रम अन्तर्गत पहिलो छोरी जन्माउने आमा बुवालाई प्रोत्साहन रकम दिने कार्यक्रमको सुरुवात गर्‍यौँ । यस्तै दुई वटा छोरी जन्माएर बन्ध्याकरण गर्ने आमा बुबाका छोरीहरूलाई उच्च शिक्षा हासिल गराउन पच्चीस हजार मुद्दती खातामा जम्मा गरी प्रोत्साहन गर्ने कार्यक्रम ल्याएका छौँ," मेयर पराजुलीले भने । 
पछिल्लो समय सवारी चाप बढ्दै गएकाले ट्राफिक जाम हुने सम्भावनालाई मध्यनजर गर्दै कोसी राजमार्गका चार ठाउँमा आकासे पुल निर्माण कार्य प्रारम्भ गरिएको मेयर पराजुलीले बताए । उनका अनुसार २०७९ साल भित्र निर्माण सम्पन्न हुनेगरि कञ्चनवारि बरगाछी, बसपार्क र घास चोकमा सुविधा सम्पन्न आकासेपुल बन्न लागेको हो ।
त्यो सँगै १ करोड ६१ लाख ४२ हजारको लागतमा हिमालय रोड व्युटीफिकेसन र ९६ लाख ११ हजार ३ सय २९ रुपैयाँ लागतमा एयरपोर्ट सडक व्युटिफिकेशनको काम धमाधम भइरहेको छ । २४ करोड ७८ लाख ९६ हजार लगानीमा वीरेन्द्र सभागृह स्तरोन्नतिको काम भइरहेको छ । सडक मानवरहित महानगरपालिका बनाउन ५० कोठे मानव सेवा आश्रम भवन निर्माण कार्य सुरु भएको छ ।