धरान : १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवर घोषित भएका छन् । 
कुँवरले विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रही उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै  सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको हो । 
उनले धरान ४ स्थित कोशी राजमार्गको जङ्गलमा पुरुष मानिसको टाउको, जिउ र खुट्टाको भाग छुट्टिएको र सडी गली रहेको अवस्थामा फेला परेको घटनाको उत्कृष्ट अनुसन्धान गरी मृतकको पहिचान खुलाउन सफल भएका थिए ।
उक्त घटनामा संलग्न प्रतिवादीहरू तथा अन्य विभिन्न आपराधिक घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ तथा कानुनी कारबाहीको दायरामा ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै आम नागरिकहरूमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले इलाका प्रहरी कार्यालय धरान सुनसरी दरबन्दी भई सोही कार्यालयमा कार्यरत प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरलाई उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०७८ साल फागुन “महिनाको सर्वोत्कृष्ट प्रहरी” पुलिस अफ द मन्थ घोषणा गरिएको हो ।   
प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङ्कन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरू मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरण सहितको फ्लेक्स प्रिन्ट १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर तथा प्रदेश प्रहरी अन्तरगत रहेका इलाका प्रहरी कार्यालय “क“ स्तरसम्मका प्रहरी कार्यालयहरूमा १ महिना सम्म राखिँदै आइएको छ ।