इटहरी : पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गराएर स्वास्थ्य र शिक्षा क्षेत्रको विकाशमा टेवा पुर्याउने  प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । मोरङको सुन्दरहरैँचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास गर्ने क्रममा देउवाले मेडिकल शिक्षा अहिलेको आवश्यकता भएको बताए। 
मेयर शिवप्रसाद ढकालको निमन्त्रणामा प्रधानमन्त्रीको रूपमा पहिलो पटक सुन्दरहरैँचा पुगेका देउवाले पूर्वाञ्चल विश्वविद्यालय प्रति आफू जानकार रहेको बताए। 
प्रधानमन्त्री देउवालाई स्वागत गर्ने क्रममा मेयर ढकालले मेडिकल शिक्षाले सुन्दरहरैँचाको मात्र नभएर प्रदेश १ कै विकाशमा भूमिका खेल्ने जानकारी गराए । नेपाल सरकारले सहयोग गर्दा विश्वविद्यालय चलायमान हुने बताउँदै उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाइदिन आग्रह गरे।
नेपाली काँग्रेस प्रदेश १ का उपसभापति तथा राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले पनि विश्वविद्यालयमा मेडिकल कलेज अपरिहार्य रहेको दोहोर्‍याए । यसअघि देउवा नेतृत्वको सरकार भएको बेला आफूले बारम्बार जानकारी गराएको स्मरण गराउँदै उनले अब कुनै हालतमा मेडिकल कलेज सञ्चालन हुनुपर्ने माग राखे। 
कार्यक्रमको अन्त्यमा बोलेका काँग्रेस सभापति समेत रहेका देउवाले स्थानीय जनप्रतिनिधिले जनताको पक्षमा काम गर्नु पर्ने बताए । जनप्रतिनिधिलाई सहयोग गर्न सङ्घीय सरकार तयार रहेको बताउँदै उनले सुन्दरहरैंचाको विकाशमा आफू गम्भीर भएको उल्लेख गरे। 
फरक प्रसङ्गमा बाल्दै उनले शिव ढकालको पालामा सुन्दरहरैँचा नगरपालिकामा धेरै विकाश भएको सुनाए । आफूले पाएको जानकारीको आधारमा हसिना सिमसार देखी बागझोडाको पर्यटकीय प्रवर्द्धनका ढकाल नेतृत्वको स्थानीय तहले धेरै काम गरेको बताए । व्यवस्थित सहरीकरण अहिलेको आवश्यकता रहेको बताउँदै उनले विकाश निर्माणलाई पनि त्यसै अनुसार अगाडी बढाउन आग्रह गरे। 
मेयर ढकालले विगत देखी नै पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल शिक्षा सञ्चालनको लागि पहल जारी राखेका छन् । चैत ५ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर विश्व पौडेलसँग अन्तरक्रिया गरेर विश्वविद्यालयको सम्भावना बारे जानकारी गराएका थिए।
PU-Building