धरान : केही दिन देखि पेट्रोल नवाडेका धरानका पेट्रोल पम्पहरूले आज बिहानै देखि पेट्रोल वितरण गर्न थालेका छन् । 

बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न, पेट्रोलियम व्यवसायीले पाइरहेको कमिसन वृद्धि लगायतको माग राख्दै करिब दुई सातादेखि आन्दोलन गरिरहेका व्यवसायीहरूले शुक्रवार डिपोबाट इन्धन लोड/अनलोड नै बन्द गरेपछि देशै भर पेट्रोल अभाव भएको थियो । सोही अनुसार धरानमा पनि केही दिन देखि पेट्रोल अभाव भएको थियो । 

गएराति धरानमा ३२ हजार लिटर पेट्रोल आएको नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएसनका केन्द्रीय सदस्य गोपाल श्रेष्ठले बताए। उनका अनुसार ३२ हजार लिटर पेट्रोल मध्ये तीनकुने पम्पमा ४ हजार, अरुण पेट्रोल पम्पमा ५ हजार, अटल पेट्रोल पम्पमा ५ हजार, हिमालय पेट्रोल पम्पमा ५ हजार, राजेश पेट्रोल पम्पमा ८ हजार र श्यामभक्त पेट्रोल पम्पमा ५ हजार लिटर पेट्रोल आएको छ। 

Petrol-1पेट्रोल आए पछि धरानमा बिहानै देखि ठुलो सङ्ख्यामा पेट्रोल भर्नेहरूको घुइँचो लागेको छ । मोटरसाइकल, ट्याम्पो, पेट्रोलबाट चल्ने सवारी साधनहरू लाइनमा बसेका छन् । धरानमा दैनिक २५ देखि २८ हजार लिटर पेट्रोल खपत हुने भए पनि केही दिन देखि पेट्रोल अभाव भएका कारण धरानमा पेट्रोल भर्नेहरूको ठुलो भिड लागेको हो। धरानका पम्पहरूले मोटरसाइकललाई ५ सय, ट्याम्पोलाई ७ सय र गाडीलाई १ हजारको मात्रै पेट्रोल वितरण गरिरहेका छन् । 

धरानमा मात्रै नभएर देशभरनै पेट्रोल अभाव भएकोले पेट्रोल सहजरुपले पाउने वातावरण आयल निगमले कति पेट्रोल पम्पहरूलाई वितरण गर्न सक्छ सोही अनुसार हुने केन्द्रीय सदस्य श्रेष्ठले बताए । हिजो देखि भारतको बरौनीबाट तेल लोड आयल निगमले गर्न थालेकोले चाडै नै पेट्रोल सहजरुपमा पाइने श्रेष्ठको विश्वास छ। 

Petrol-2Petrol-4Petrol-3Petrol-6Petrol-8Petrol-7