धरान : धरानमा चुनावी गठबन्धन गर्न सत्तारुढ दलहरूबिच रस्साकस्सी निकै लामो समय सम्म चले पछि अन्ततः पाँच दलीय गठबन्धन बन्ने निश्चित भएको छ । 

अहिले साँझ सम्ममा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी बिच सहमति भइसकेको र अरू दुई दल जनता समाजवादी पार्टी र सङ्घीय लिम्बुवान राष्ट्रिय मञ्चसँग सत्तारुढ दलहरू बिच गठबन्धन गर्नेबारेमा यो समाचार तयार पारुन्जेल सम्ममा छलफल जारी रहेको नेपाली काँग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले कपुरी न्युजलाई बताए । 

केन्द्रमा पाँचदलिय गठबन्धनले निर्णय गरेको भन्दा फरक ढङ्गले धरानमा गठबन्धनमा सहमति हुने नेपाली काँग्रेस धरान उपमहानगर कमिटीका सभापति श्याम पोखरेलले बताए । धरानमा मेयर नेपाली काँग्रेसले लिने र उपमेयर नेकपा माओवादी केन्द्रले लिने गरी सहमति हुने बताइए पनि अरू दलहरूले के कति वडामा भागबन्डा पाए भन्ने बारेमा भने खुलाइएको छैन । 

धरानमा पाँच दलीय गठबन्धन हुने ९९ प्रतिशत पक्का पक्की भएको बताउँदै सभापति पोखरेलले भने गठबन्धनका लागि वार्ताको ढोका खुल्ला राखेर भोलि बिहीबार देखि गठबन्धन दलहरूले आफ्नो चुनावी अभियानलाई तीव्रता दिने बताए ।