धरान : वैशाख ३० गते हुने धरान उपमहानगरपालिकाको निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरूप्रति धराने मतदाताको उत्साहपूर्ण मतदान गर्ने अवस्था पाइएको मेयर र उपमेयरका उम्मेदवार द्वयले बताएका छन् । मुलुकमा सङ्घीयता आएपछि धरानमा पहिलो पटक लोकतन्त्रवादी र वामपन्थी शक्ति मिलेर धरानलाई नयाँ गति दिने अठोट गरेकाले धरानवासीमा नयाँ उत्साह पाइएको उनीहरूले बताएका हुन ।
चुनावी अभियानमा धरानका वडा वडामा जनताको घरदैलोमा पुग्दा मतदाताहरूले उत्साहपूर्ण रूपमा स्वागत गर्दै गठबन्धनप्रति ठुलो आशा र भरोसा रहेको बताएको उम्मेदवार द्वयले बताए । उनीहरूले धरानका ७ वटा वडाहरूमा गठबन्धनका वडा अध्यक्ष, सदस्यहरू सहित घरदैलो पुरा गरिसकेका छन् । शनिवार साँझ घरदैलो कार्यक्रम सकेर फर्किएपछि मेयरका प्रत्याशी किशोर राई, उपमेयरका प्रत्याशी आइन्द्र विक्रम बेघाले पार्टी नेता, पत्रकारहरूसँग सम्पर्क कार्यालय होटेल गोर्खामा भएको भेटघाटमा उक्त कुरा बताएका हुन ।
गठबन्धनबाट मेयरका प्रत्याशी किशोर राईले उपनिर्वाचन अघि सम्म लामो समय एउटै पार्टीले हाली मुहाली चलाउँदै आएकोले उपमहानगरपालिकाको नीति निर्णय पारदर्शी थिएन जनभावनाको सुनवाइ हुन सकेको थिएन त्यसैले धराने जनताले यसपालि गठबन्धनका उम्मेदवारहरूप्रति उत्साही पाएको बताए । उनले भने ‘धरानको भविष्य बनाउन धराने जनताको चाहनाको प्रतिनिधित्व गठबन्धनले गर्नेछ, हामी भानुचौकमा आम दरानवासीका बिच उपमहानगरपालिकाको योजना, नीति, आर्थिक अवस्था सार्वजनिक गर्नेछौँ धरानवासीकै चाहना अनुसार नयाँ काम गर्नेछौँ ।’
उनले धरान खानेपानी आयोजना धरानका सबै राजनीतिक पार्टीहरूले ल्याएका हुन । आयोजना प्राविधिक रूपमा सम्पन्न नभई सकेको अवस्थाका कारण खानेपानीको समस्यासँग धरानवासीले सामना गर्नु परेको बताए । पछिल्लो समय यसलाई पूर्ण क्षमता सञ्चालन गरी आयोजनको पूर्व घोषित खानेपानी आपूर्तिको लक्ष्य अनुसार वितरणको व्यवस्था गरिने प्रतिबद्धता जनाए । उनले भने ‘उपमहानगरपालिकाको सम्पूर्ण बजेट खानेपानीको लागि खर्च गर्नुपरे पनि समस्या समाधान गरेर छोड्छौ, एक, दुई वर्ष सडक नबन्ला, ससानाका काम नहोला तर खानेपानीको समस्या समाधान गरेरै छाड्छौ ।’ गठबन्धनबाट उपमेयरका प्रत्याशी आइन्द्र विक्रम बेघाले परिवर्तनको पक्षमा रहँदै आएका धराने मतदाताले यसपालि लोकतान्त्रिक र बम गठबन्धनलाई व्यक्ति परिवर्तन भन्दा नेतृत्वमा नयाँ परिवर्तनकारी स्वरूपका रूपमा लिएको बताए । धरानको खानेपानी, सुकुम्वासी समस्या पुरानै छन्, उपमहानगर बनेपछि गाभिएका वडाहरूका नयाँ कार्यभार थपिएको बताउँदै भने ‘यसलाई एउटै पार्टीको नेतृत्वले नयाँ ढङ्गले समाधान गर्न नसकेकाले गठबन्धनको संयुक्त नेतृत्वप्रति जनतामा नयाँ आशा जागेको देखिएका छ।’
उनले उपनिर्वाचनले उपमहानगरपालिकाको नेतृत्व परिवर्तन गरेपछि नयाँ ढङ्गले नीतिगत कामहरू भए तर, आधा कार्यकालका लागि मेयर बनेका तिलक राईले कोभिड महामारीको सामना गर्नुपरेको सबैलाई थाहा भएको बताए । कोभिड महामारीमा राहत र उद्धारमा उदाहरणीय कार्य, विकास, निर्माणमा राजनीतिक पूर्वाग्रह नराखी समान योजनात वितरणका नयाँ काम भएको बताउँदै उनले भने ‘अब त्यो भन्दा गतिशील र नयाँ ढङ्गले धरानको खानेपानी सहित विकास, निर्माण र नीति निर्णयलाई हामी अघि बढाउने छौँ।’ वडाहरूमा जनताका घर दैलोमा पुग्दा गठबन्धनप्रति विश्वास प्रकट गर्दै मतदाताहरूले त्यस्तो सुझाव दिएको उनको भनाई छ ।
गठबन्धन चुनाव प्रचार समितिका संयोजक श्याम पोखरेलको अध्यक्षतामा भएको भेटघाट अन्तरक्रियामा पूर्व मेयर तिलक राईले उपमहानगरपालिकामा आफ्नो कार्यकालमा भएका काम कारबाहीका बारेमा गठबन्धनका उम्मेदवारहरूलाई कसैले प्रश्न उठाए आफू जवाफ दिन साथै रहने प्रतिबद्धता जनाए । कार्यक्रममा प्रदेश १ सांसद चन्द्र प्रसाद श्रेष्ठ, उमिता बराइली सहित नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका नेताहरू उपस्थित थिए ।