इटहरी : नेपाली काँग्रेस सुन्दरहरैचाले घोषणापत्र सार्वजनिक गरेको छ ।  सोमबार सुन्दरहरैचाको विराटचोकमा एक कार्यक्रमका बिच घोषणापत्र सार्वजनिक गरेको हो । सुन्दरहरैचालाई सुकुम्वासी मुक्त नगर घोषणा गर्ने लक्ष्य सहित काँग्रेस चुनावी मैदानमा उत्रिएको छ । यसअघिका मेयर शिवप्रसाद ढकाललाई काँग्रेसले पुनः उम्मेदवार बनाएको छ । काँग्रेस नेतृत्वको गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका नवराज चापागाईँ उपमेयरका उम्मेदवार छन् । 

गठबन्धनको नेतृत्व गरिरहेको दलको हिसाबमा काँग्रेसले एकल रूपमै घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रमा नेपालकै सबैभन्दा ठुलो बहुउद्देश्यीय अन्तर्राष्ट्रिय स्टेडियम निर्माण गर्ने देखी खुल्ला व्यायामशाला स्थापना गर्ने उल्लेख छ । हरेक विद्यालयलाई डिजिटल विद्यालयको रूपमा रूपान्तरण गर्ने र सुकुना बहुमुखी क्याम्पस एल. एल. बी र इन्जिनियरिङ शिक्षा सञ्चालन गर्ने काँग्रेसले प्रतिबद्धता जनाएको छ । नगर अस्पताललाई ५० बेडमा स्तरोन्नति गरी सबै रोगको विशेषज्ञ अस्पतालको रूपमा विकाश गर्ने लक्ष्य राखिएको छ । भिडियो कल मार्फत २४ सैं घण्टा डाक्टरको सेवा उपलब्ध गराउन मेरो डाक्टर सेवा सञ्चालन गरिने र ‘एक वडा एक डाक्टर एक टोल एक नर्स’ को व्यवस्था मिलाउने भएको छ । 

७० वर्ष पुरा भएका नागरिकको लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था मिलाउने, दुलारी अस्पताललाई अपाङ्गता विशेष अस्पतालको रूपमा रुपमान्तरण गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । पहिलो कार्यकालमा ३ हजार नागरिकको स्वास्थ्य बिमा गरिएको र अब १० हजार नगर बासीलाई निःशुल्क स्वास्थ्य बिमा गरिने भएको छ । कृषि उपज उत्पादनलाई बढवा दिन र कृषकलाई राहत पुर्‍याउन कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइने काँग्रेसले जनाएको छ । कृषि उपज उत्पादनलाई पर्यटन सँग जोडेर ‘घुम्न जाऊँ सुन्दरहरैचा’ कार्यक्रम ल्याइने भएको छ । 

बागझोडा, हसिना हुँदै फोक्लाण्ड टापु सम्मको जङ्गली क्षेत्रलाई जङ्गल सफारीको रूपमा विकाश गरी ‘एक रात लाइट सहितको पार्क, फोक्ल्याण्ड टापु होमस्टेमा बास’ को रणनीतिक कार्ययोजना तयार पार्ने उल्लेख छ । सोही लाइनमा साइकल लेन निर्माण गरी इको टुरिजमलाई प्रवर्द्धन गरिने भएको छ । अन्य पालिका सँग मिलेर फोहोर प्रशोधन केन्द्र स्थापना गर्ने, प्लास्टिक शून्य नगर घोषणा गर्ने, एक व्यक्ती एक बिरुवा रोप्ने अभियान सञ्चालन गर्ने घोषणापत्रमा उल्लेख छ । मेरो हातमा मेरो नगर कार्यक्रमलाई प्रभावकारी बनाउन अनलाइन मार्फत कर तिर्ने व्यवस्था मिलाइने भएको छ । घरमै बसेर घर नक्सा पास गर्ने व्यवस्था मिलाउने घोषणा गरेको छ । 

सलकपुरमा सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण गर्ने, प्रत्येक वडामा वृद्ध चौतारी निर्माण गर्ने लक्ष्य राखिएको छ । बुढी गङ्गा जमुनामा विद्युतिय शवदाहा गृह स्थापना गर्ने र सुन्दरहरैचालाई साहित्य सङ्गमको रूपमा विकाश गरिने भएको छ । पत्रकारलाई खोजमूलक स्टोरी लेखेबापत मासिक १० हजार प्रदान गर्ने देखी पत्रकारको दुर्घटना बिमा गरिने भएको छ । सिपयुक्त युवा उत्पादन गरी ५ वर्ष भित्रमा १० हजार युवालाई रोजगारी दिलाउने काँग्रेसले जनाएको छ ।  घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै ढकालले आफूले पुरा गर्न सकिने मात्र विषयलाई समेट्ने प्रयास गरेको बताए । धेरै महत्त्वाकाङ्क्षी योजना सार्वजनिक गर्नुभन्दा सामान्य काम गरेर पनि जनतालाई खुसी पारिने उनको भनाई छ । आफूले पहिलो कार्यकालमा सुरु गरेका योजनालाई पुरा गर्न आफू प्रतिबद्ध भएको उनले बताए ।