सुनसरी  : गम्भीर प्रकृतिका अपराध गरी फरार अपराधीहरूलाई नियन्त्रणमा लिन सुनसरी प्रहरीले फरार पक्राउ’ अभियान सुरु गरेपछि सफलता हात पारेको छ । चालु आर्थिक वर्षको असार १३ गतेसम्म सुनसरी प्रहरीले ८४१ फरार अभियुक्त पक्राउ गरेको सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले जानकारी दिए । कर्तव्य ज्यान, अपहरण तथा शरीर बन्धक, जबरजस्ती करणी, डाका लगायत मुद्दाका फरार अपराधीलाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।
पक्राउ परेका अभियुक्तमध्ये छोटो अवधिदेखि २४ वर्षसम्म फरार रहेकाहरू समेत छन् । प्रहरीले एकै दिनमा ११६ जनासम्मलाई पक्राउ गरी अदालतमा बुझाएको छ । फरार पक्राउ’ अभियान अन्तर्गत प्रहरीले चालु आर्थिक वर्षको साउन १ गतेदेखि २०७९ वैशाख ३० गतेसम्म ६१३ जना फरार प्रतिवादीहरू पक्राउ गरेको थियो । वैशाख ३० गतेको स्थानीय तहको निर्वाचन पछि २२८, असारको १३ दिनमा २१७ र असार १२ गते एकै दिन ११६ जना फरार अभियुक्त पक्राउ गरी अदालत बुझाएको एसपी थापाले जानकारी दिए । प्रहरीका अनुसार ८४१ फरार अभियुक्तबाट १८२ वर्ष ८ महिना ५ दिन कैद भुक्तान र १ करोड १४ लाख ३६ हजार ५२० रुपैयाँ राजस्व असुली गरेको छ । सुनसरीमा ३ हजार ८ सय फरार अभियुक्त रहेका छन् । फरार अभियुक्त पक्राउ गर्ने सुनसरी प्रहरी देशभरिमै अगाडि रहेको सर्वोच्च अदालतको फैसला कार्यान्वयन शाखाको अभिलेखमा देखिन्छ ।
प्रदेश १ भरीमा चालु आर्थिक वर्षको पुससम्ममा १ हजार १६८ जना फरार अपराधी पक्राउ परेका छन् । १४ जिल्लाभरिमा पक्राउ परेकामध्ये आधाभन्दा धेरै सुनसरीका छन् । ढलो चाँडो गलत काम गर्नेहरू कानुनी दायरामा आउनैपर्छ, त्यसैले पुराना, अधुरा गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गरी अपराधी पक्राउ गर्छौँ,’ एसपी थापाले भने, अदालतको फैसला कार्यान्वयनलाई प्राथमिकतामा राखी फरार पक्राउ अभियान सुरु गरिएको हो ।’ अभियानका माध्यमबाट अपराध गरेर जति दिन लुकिछिपी बसे पनि तोकिएको कैद वा जरिवाना भुक्तान नगरी छुट छैन भन्ने सन्देश पनि दिएको एसपी थापाले बताए ।
जिल्लाको समग्र शान्ति सुरक्षा कायम राखेर अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धानमा प्रहरी परिचालन हुँदै कानुनप्रतिको आड भरोसा कायम राख्न र पीडितलाई न्यायको अनुभूति दिलाउन लागि परेको उनले बताए । पीडक पक्षलाई कानुनबाट भाग्न वा बच्न सकिँदैन भन्ने डर पैदा गर्न सञ्चालित फरार अभियुक्त पक्राउ अभियानलाई सुनसरी प्रहरीले प्राथमिकतामा राखी काम गर्दै आएको छ,’ एसपी थापाले भने ।
कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका अभियुक्त गम्भीर दनुवारलाई सुनसरी प्रहरीले घटनाको ८ वर्षपछि पक्राउ गरेको छ । २०७१ मङ्सिर १ गते भोजपुर हसनपुरका १९ वर्षीय चित्रकुमार मग्रातीको धरान विष्णुपादुका स्मृति पार्कमा हत्यापछि फरार रहेका उनी पक्राउ परेका हुन् । सुनसरी भोक्राहा ४५ वर्षीय वसन्त खत्वे आफ्नै नातिनी हत्या गरेको १२ वर्षपछि पक्राउ परे । उनले २०६६ मा घाँटी बटारेर नातिनीको हत्या गरेका थिए । उनलाई सुनसरी अदालतले २०७४ वैशाख २४ गते २० वर्ष कैद सजायको फैसला सुनाएको थियो । उनी गत साउन ७ गते पक्राउ परेका थिए । सुनसरी दुहबी नगरपालिका ४ का गुल्वा भन्ने गुलाम मियाले २०५४ सालमा छिमेकी रसु चौधरीलाई जग्गाको विषयमा विवाद हुँदा भाटाले हानेर हत्या गरी फरार रहेका थिए । २०६० माघ २६ गते उनलाई अदालतले २० वर्ष कैद सजायको फैसला सुनाएकोमा २४ वर्षपछि प्रहरीले गत साउन ३० गते पक्राउ गरेको हो । 
हाम्रोमत दैनिकबाट