धरान : निकै लामो समय देखि भाडामा बस्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीको धरान-१९ स्थित लाङघाली सामुदायिक बन क्षेत्रमा कार्यालय निर्माण हुने भएको छ । 

धरानका मेयर, उपमेयर सहितको गठबन्धन दलको नेतृत्वले केही दिन अघि राजधानी पुगेर बन तथा वातावरण मन्त्रालय र गृह मन्त्रालयमा डेलिगेसन गरेपछि धरानमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीको भवन धरानमै बन्ने निश्चित भएको हो । सोही अनुसार बिहीबार धरानका राजनीतिक दल सम्मिलित एक टोलीले धरान-१९ को लाङ्घाली सामुदायिक बन क्षेत्रको ५ कठ्ठा जग्गामा सिमेन्टको पिल्लर गाडेर सिमाङ्कन गरिएको बाम गठबन्धनका संयोजक किशोर राईले जानकारी दिए । 

बन र गृह मन्त्रालयबाट जिल्ला प्रशासन कार्यालय, धरान उपमहानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन बनाउनका लागि पत्र आएपछि प्राविधिक सहित धरानका राजनीतिक दलका प्रतिनिधिहरू लाङ्घाली सामुदायिक बन क्षेत्रमा पुगेर जग्गाको सिमाङ्कन गरेका हुन् । 

केन्द्र सरकार बन मन्त्रालयको सहयोगमा धरानमा जग्गा उपलब्ध भएपछि भवन निर्माण पक्रिया अघि बढेको हो । बिहीबार जग्गाको सिमाङ्कन पछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र उपमेयर आइन्द्रविक्रम बेघाले प्राविधिकहरूलाई फास्ट ट्र्याकमा काम गर्न निर्देशन समेत दिएका छन् ।

आगामी मङ्सिर ४ मा हुने निर्वाचन अघि नै सिमाङ्कन गरिएको जग्गा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीको नाममा गरी सक्ने र डिपिआर र नक्सा समेत बनी सक्ने गरी काम गर्न सम्बन्धित निकाय र प्राविधिकलाई निर्देशन दिइएको बताइएको छ । निर्वाचन अघि डिपिआर र नक्सा बनाउने काम सम्पन्न भएपछि पुनः राजधानी गएर केन्द्र सरकारलाई भेटेर जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन बनाउने सम्बन्धमा जानकारी दिने गरी द्रुत गतिमा काम अघि बढेको संयोजक किशोर राईले बताए । 

जग्गाको सिमाङ्कन गर्न, नेपाली काँग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानको प्रवेशद्वार तीनकुनेको सिरीजंगाको सालिक रहेको स्थानबाट अलिकति केही पश्चिम क्याम जाने सडकको दक्षिणमा बन्ने भएको छ ।