धरान : धरानका मेयर, उपमेयर सहितको गठबन्धन दलको नेतृत्वले बुधवार अर्थ मन्त्री जनार्दन शर्मा र गृहमन्त्री बालकृष्ण खाँणसँग भेट गरेको छ । 

टोलीका सदस्य सुजेन्द्र तामाङका अनुसार दलहरूले विभिन्न मन्त्रालयमा पेस गरेका योजनाका लागि आवश्यक बजेटको व्यवस्था गर्ने अर्थ मन्त्रालयबाट प्रतिबद्धता व्यक्त भएको छ ।

त्यसै गरी गृह मन्त्री वालकृष्ण खाँणसँगको भेटमा जिल्ला ट्राफिक कार्यालय, सुनसरीको भवन निर्माणका लागि जग्गाको व्यवस्था गर्न वन मन्त्रालयलाई सिफारिस गर्ने र आवश्यक बजेट विनियोजनका लागि अविलम्ब  प्रक्रिया प्रारम्भ गर्ने भएको छ ।

प्रतिनिधि मण्डलमा धरानका मेयर हर्क साम्पाङ, उपमेयर आइन्द्र विक्रम बेघा, दलीय संयन्त्रका संयोजक किशोर राई, नेपाली काँग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, नेकपा माओवादी केन्द्रका नगर इन्चार्ज चोत्लुङ, जसपाका नगर अध्यक्ष ताजुब लिम्बू, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष रेवतीरमण राई, नेपाली काँग्रेसका प्रदेश सदस्य गणेश परियार, नेकपा माओवादी केन्द्रका नगर सचिवालय सदस्य सिपी बजगाईँ रहेका थिए ।

यसैगरी प्रतिनिधि मण्डलमा पूर्व प्रदेश प्रमुख  डा. गोविन्द सुब्बा, सांसद मिना सुब्बा, सांसद सिताराम महतो, राष्ट्रिय सभा सदस्य जयन्ती राई, जसपाका केन्द्रीय सदस्य भीम राई, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य जीवन राई, काँग्रेसका नेताहरू डा. तुलसी गौतम, प्रेम राई, काठमाण्डौं सुनसरी सम्पर्क समितिका अध्यक्ष बाबुराम आचार्य लगायतको पनि सहभागिता थियो । यो टोलीका केही सदस्य, मेयर उपमेयर भने बुधवार धरान फर्केका छन् ।

KTM 1