धरान : नेकपा एमालेबाट विद्रोह गर्दै मनोज मेन्याङ्बोले प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दिने भएका छन् । सुनसरीको क्षेत्र नम्बर एक एमालेले जसपालाई छोडेपछि मेन्याङ्बोले विद्रोह गरेका हुन् । 
एमालेले जसपाका अशोक राईलाई टिकट छोडेपछि २०५४ का धरानका मेयर मनोजकुमार मेन्याङ्बोले स्वतन्त्र उम्मेदवारी दिएका छन् । भानुचोकको लोकतान्त्रिक चौतारीबाट मेन्याङ्बोले प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी घोषणा गरेका हुन् । 
एमालेले प्रतिनिधिसभा सदस्यको लागि निवर्तमान सांसद जयकुमार राईको नाम सर्वसम्मत सिफारिस गरेको थियो । राईले नै टिकट लिने समेत लगभग तय पनि थियो । तर, सत्ता गठबन्धनमा रहेको जसपाले एमालेसँग तालमेल गर्ने भयो ।
त्यसपछि सुनसरी एकको राजनीति नै एकाएक उथलपुथल भयो । जसपाका वरिष्ठ नेता अशोक राईले सुनसरी एक दाबी गरेपछि एमालेका स्थानीय नेताहरू रुष्ट बने ।
सत्ता गठबन्धनमा जसपाको छलफल चलेको बेला समेत सुनसरी एक अशोक राईलाई दिने सहमति थियो । त्यसैले एमालेले आन्तरिक रूपमा अशोक विरुद्ध त्यति बेला देखिनै गतिविधि सुरु गरेको थियो । टुरिस्ट उम्मेदवार भनेर एमाले निकटहरूले अशोक राई विरुद्ध निकै प्रचार समेत गरेका थिए ।
तर, त्यही विरोध गर्दै आएको व्यक्तिलाई नै सघाउनु पर्ने अवस्था आएपछि भने एमालेको ठुलो तप्काले विरोध गरेको थियो । जसको नेतृत्व मेन्याङ्बो गरेका थिए भने उनको विशेष सहयोगी धरानका एमाले नेता किशोर कार्की थिए । अहिले कार्की मेयाङ्बोको निर्वाचन परिचालन कमिटीका संयोजक छन् ।
मेन्याङ्बो र कार्कीकै पहलमा शनिवार धरानमा एमाले कार्यकर्ताहरू भेला भएका थिए । भेलामै मेन्याङ्बोले पार्टीले निर्णय नसच्याए विद्रोहको चेतावनी समेत दिएको थिए ।
शनिवार राती १२ बजे सम्म दिएर पार्टीलाई अल्टिमेटम दिए पनि जसपालाई छोड्ने निर्णय संशोधन भने भएन । 'हामीले अल्टिमेटम दिएका थियौ तर, पार्टीले मानेन' निर्वाचन परिचालन कमिटीका संयोजक कार्कीले भने ' त्यसैले उम्मेदवारी दिने भएका हौँ ।'
manoj-ummedwari-3
manoj-ummedwari