सुनसरी : प्रतिनिधि सभा सुनसरी क्षेत्र नम्बर एकमा एमालेबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवार दिएका मनोज मेन्याङ्बोले आफ्ना चुनावी एजेन्डा सार्वजनिक गरेका छन् । आगामी मङ्सिर ४ मा हुने निर्वाचनमा उम्मेदवार दिएका उनले गाउँघरका साना समस्या देखि राष्ट्रिय स्तरका एजेन्डा समेटेका छन् । 
मंगलबार साँझ वराहक्षेत्र-५ स्थित कालाबञ्जारमा पत्रकार सम्मेलनको आयोजना गर्दै धरानमा रहेको बिपी प्रतिष्ठानमा रहेको समस्यालाई समाधान गर्ने देखि युवालाई स्वरोजगार बनाउने विषय चुनावी मुख्य एजेन्डा सार्वजनिक गरेका हुन । उनले वडा कार्यालय तथा स्थानीय तहले गर्ने साना विकासे योजना समेत आफ्नो प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् ।
पर्यटकीय गन्तव्य रहेको क्षेत्र नम्बर १ मा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न पिण्डेश्वर, बुढासुब्बा, दन्तकाली देखि वराहक्षेत्रलाई अझ व्यवस्थित पार्दै लगिने, सुकुम्वासी समस्या समाधान गर्ने, सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई दिवा खाजाको रकम वृद्धि गर्ने समेत उनले घोषणा पत्रमा उल्लेख गरेका छन् । 
लामो समय देखि राजनीतिक दलका नेताहरूले भ्रष्टाचार, ढिलासुस्ती जस्ता गलत क्रियाकलाप गर्दै नागरिकका समस्यालाई बेवास्ता गरी अघि बढ्ने प्रवृत्तिलाई निरुत्साहित पार्न, नेता मालिक र जनता दास जस्ता व्यवहारको अन्त्य गर्न, व्यवसायमा गुमेको साख फर्काउन, यो क्षेत्रलाई खेलकुदको राजधानी बनाउन आफ्नो उल्लेखनीय भूमिका रहने बताएका छन् । 
गाउँगाउँका सडकहरूको स्तरउन्नती र गाउँगाउँमा एप्रोचिङ्ग सडकहरूको निर्माण गर्न जस्ता विषय पनि उनले अघि सारेका छन् । यो क्षेत्रमा रहेका करिब तीन सय भन्दा धेरै बहिरा व्यक्तिलाई रोजगारीको व्यवस्था मिलाउन, युवाहरूलाई स्वदेशमै रोजगारीको प्रबन्ध मिलाउने पनि मेन्याङ्बोले प्रस्तुत गरेका छन् । पत्रकार सम्मेलनमा उठेका विषयमाथि प्रस्ट पार्दै आफूले चुनाव जित्ने समेत दाबी गरे । उनले राजनीतिक दलका नेताहरूले जनभावना अनुसार काम नगरेका कारण आफू मैदानमा उत्रिएको बताए । 
उनले आफू धरान नगरपालिकामा प्रमुख र उपप्रमुख भएका बखत जनसहभागितामा विकासको मोडल अहिले पनि आम जनताले अनुभव गरेको बताउँदै आगामी निर्वाचनमा विजयी भए यो क्षेत्रलाई हरेक दृष्टिकोणबाट समृद्ध बनाउने दाबी गरे ।
उनले केही दिन अघि आफू रहेको पार्टी नेकपा एमालेले गरेको कारबाहीमा कुनै अर्थ नरहेको बताउँदै चुनाव लड्ने घोषणा गरेकै दिनबाट स्वतन्त्र भएको समेत बताए । 
प्रतिवद्धता-पत्र