सुनसरी : प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामकरण उच्च प्राथमिकतामा रहेको बताएका छन् । शपथ ग्रहण समारोह पछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रदेशको नामकरण आफू नेतृत्वको सरकारले गम्भीर रूपमा लिएका बताएका हुन् । 
उनले प्रदेश सरकारमाथि जनताले आलोचना गरिरहेको बेला प्रदेश सरकारको औचित्य हुने गरी जनतालाई छुने काम गर्ने बताए । माओवादी केन्द्रले गरेको निर्णयलाई आफू नेतृत्वको सरकारले केही दिनमा बसेर समस्या समाधान गर्ने बताए । 
साथै विना विभागीय मन्त्री मण्डल विस्तार गरेको विषयमा एक दुई दिन भित्रका तीनै जना मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी दिने मुख्यमन्त्री कार्कीले प्रतिक्रिया दिए । 
मुख्यमन्त्री कार्कीले एमालेका तिल कुमार मेन्याङ्बो, राप्रपा भक्ति प्रसाद सिटौला र जसपाबाट निर्मला लिम्बुलाई विना विभागीय मन्त्री नियुक्त गरेका छन् । 
एमालेका मेन्याङ्बो ताप्लेजुङको प्रदेशसभा १ बाट र सिटौला झापा क्षेत्र नम्बर ४ को प्रदेश (२) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । लिम्बू भने जसपाकी समानुपातिक सांसद हुन् ।