चतरा : वराहक्षेत्र नगरपालिका-२ मा नवजात शिशु बेवारिसे अवस्थामा फेला परेकी छन् ।
पुनर्वासबाट नडाहा जाने जङ्गलमा गाईबस्तु चराउन जाने क्रममा गोठालाहरूले बेवारिसे अवस्थामा बिहान करिब ११ बजेतिर नवजात शिशु देखेपछि इलाका प्रहरी कार्यालय चतरालाई खबर गरेका थिए ।
प्रहरीले नवजात शिशुको सकुशल उनको उद्धार गरी चतरा अस्पतालमा ल्याएको थियो। त्यहाँका डा. सुरज थापा मगरका अनुसार उनको स्वास्थ्य स्थिति नाजुक छ।
उनी जन्मेको ५७ दिन भइसकेको हुन सक्ने डा.मगरले बताए । उनका खुट्टा बाङ्गो भएका छन्, हातका औँला जोडिएका छन्, टाउकोमा फोका उठेका छन् र मुखको तालुमा प्वाल परेको छ।
चतरा अस्पतालमा उपचार सम्भव नभएकाले चिकित्सकले उनलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएका छन् ।
नवजात बालिकाको उपचार खर्च धेरै लाग्ने देखेपछि जङ्गलमा बाबु आमाले बेवारिसे अवस्थामा छाडेर गएको हुन सक्ने प्रहरीको अनुमान छ ।