धरान : धरान उपमहानगरपालिकाको बाह्रौँ मध्यावधि नगर सभाले चालु आर्थिक वर्ष २०७९/०८० को  अनुमानित बजेट तथा आयोजना, कार्यक्रममा संशोधन गरेको छ। ६ दर्जन बढी शीर्षकमा विनियोजित बजेटमा थपघट गरेको हो । बजेट संशोधनमा वडामा विनियोजित रकम प्रायः घटबढ गरिएको छैन । वडामा प्रस्तावित नगर स्तरीय आयोजनाको रकम भने घटाइएको उपमेयर आइन्द्र विक्रम बेघाद्वारा प्रस्तुत संशोधित बजेटमा उल्लेख छ ।
उपमहानगरपालिकाद्वारा आयोजित धरान उत्सवका लागि चालु बजेट ६ वटा शीर्षकको बजेट रकमान्तर गरिएको छ । रकमान्तर गरी उत्सवको बजेटमा रकम थप गर्दा बजेटको कुल २३ लाख, २५ हजार ५ सय रुपैयाँ सबै उत्सवका लागि खर्च गरिने रकम कायम गरिएको हो । आन्तरिक श्रोत बाट व्यहोरिने गरी चालु आर्थिक वर्ष २०७९/०८० को बजेटमा उक्त रकम विभिन्न शीर्षकमा विनियोजन गरिएको थियो ।
त्यस मध्ये पर्यटन शीर्षकमा धरान उत्सवका लागि १ लाख, ९६ हजार, ५६० रुपैयाँ विनियोजन गरिएको थियो । संशोधित बजेटमा कटौती गरी रकमान्तर गरिएको शीर्षकहरूमा कला साहित्य तथा संस्कृति कार्यक्रमको २ लाख ५० हजार, इष्ट टुरिजम मार्ट सञ्चालनका लागि छुट्याइएको ५ लाख, पर्यटन संस्थागत विकासको २ लाख, टुरिजम गाइड म्यापको ५ लाख समेत रकमान्तर गरिएको हो । 
धरानमा आयोजना गरिने इष्ट टुरिजममा उपमहानगरपालिकाको बजेट कटौतीले यो वर्ष उक्त मार्ट नहुने भएको छ । मार्टको आयोजनामा नेपाल पर्यटन बोर्डको ठुलो बजेट लगानी हुने गरेको थियो । भारतीय टुरिष्ट अपरेटरहरूको सहभागितामा हुने टुरिजम मार्ट धरानलाई पूर्वको टुरिष्ट हब बनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।
संशोधित बजेटमा ज्येष्ठ नागरिकका लागि विनियोजन गरेको रकम घटाइएको छ । नगर स्तरीय ज्येष्ठ नागरिक सञ्जाल गठन गर्न छुट्याइएको २५ हजार रुपैयाँलाई ५ हजारमा झारिएको छ । बालमैत्री नगर घोषणाको ५ लाख रुपैयाँ सबै घटाइएको छ । तर बजेट नभएको बालबालिकाको क्षमता वृद्धिमा ३ लाख २५ हजार रुपैयाँ नयाँ बजेट कायम गरिएको छ । 
आयोजनाहरू मध्ये रेडकस चौक शिखर मार्ग सडक स्तरोन्नतिको बजेट घटाइएको छ । धरान सभागृह पुनः निर्माणको १५ लाख रुपया घटाएर ५० हजारमा झारिएको छ । वडा १२ को कार्यालय भवन निर्माण ५० लाखबाट घटाएर ४० लाख बनाइएको छ । धरान वडा ९ र १० को पुतली लाइन सडक निर्माणको १५ लाख रुपया ५ लाख रुपयामा झारिएको छ । 
संशोधित बजेटमा बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगीताका लागि रकम थपिएको छ । चालु वर्षको बजेटमा ९ लाख रुपया विनियोजन भएको थियो । संशोधित बजेटले त्यसमा ३ लाख रुपया थप गरी कुल १२ लाख रुपया पुर्‍याइएको छ ।
यसैगरी सुवास राई स्मृति अन्तर वडा नगर स्तरीय लिग फुटबल प्रतियोगिता सञ्चालनका लागि भने बजेट रकम घटाइएको छ । स्वीकृत बजेट ७ लाख रुपया रहेको उक्त प्रतियोगिताको रकम ३ लाख घटाएर कुल ४ लाख रुपया मात्र कायम गरिएको छ ।  
नगर सभामा मेयर हर्क साम्पाङले धरान उपमहानगरपालिका कार्यालयको साइन बोर्डमा ‘स्थानिय सरकार’ थप्ने प्रस्ताव गरे । उनले उक्त प्रस्ताव थपडी बजाएर पारित गर्न आग्रह गरेपछि नगर सभाका जनप्रतिनिधिहरूले थपडी बजाएर मेयरको प्रस्तावलाई पारित गरेका छन् । अब उपमहानगरपालिकाको  बोर्डमा धरान उपमहानगरपालिका कार्यपालिका लेखिएको साइन बोर्ड, लेटर प्याड लगायतको सबै भन्दा माथि ‘स्थानिय सरकार’ थपिने भएको छ ।