वराहक्षेत्र : त्रिभुवन विश्वविद्यालयले क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गराउने भएपछि विद्यार्थीहरूको राजनैतिक सङ्घ सङ्गठनहरूले चुनावी सरगर्मी बढाएका छन् । क्याम्पसहरूमा स्ववियु चुनाव केन्द्रित भएर विद्यार्थी सङ्गठनहरू विभिन्न कार्यक्रममा जुट्न थालेका छन् । त्रिविले स्ववियु चुनावको मिति चैत ५ गते तोकेको छ ।

चुनावको मिति नजिकिएसँगै सङ्गठनले विद्यार्थीहरूलाई आकर्षित गर्ने गतिविधिलाई तीव्रता बनाएका छन् । वराहक्षेत्र नगरपालिकामा रहेको एक मात्र बहुमुखी क्याम्पस सप्तकोसी बहुमुखी क्याम्पसमा विद्यार्थीका सङ्घ सङ्गठनले चुनावी माहौललाई आफू आकर्षित गर्ने सक्रिय भनेका छन् । भोजपुर, उदयपुर सहित सुनसरीका रामधुनी, भोक्राहा लगाएका विद्यार्थी अध्ययनरत रहेका क्याम्पसमा करिब ६ सय बिद्यार्थीहरु रहेका छन् ।

यस अगाडी २०७३ सालमा सम्पन्न निर्वाचनमा नेपाल विद्यार्थी सङ्घले प्यानल जितेको क्याम्पसमा यस पटक अनेरास्ववियु नेबि सङ्घको इतिहासलाई तोड्न सक्रिय छ। निर्वाचन नजिकिएसँगै अनेरास्ववियु डस्बिन, खानेपानीको जग त्यस्तै बाटो मर्मत गर्ने कार्यमा लागि परेको छ।

२०७३ सालको निर्वाचनमा सुनसरीमा रहेका क्याम्पस मध्ये सप्तकोसी बहुमुखी क्याम्पसमा मात्र विजयी बनेर  नेपाल विद्यार्थी सङ्घ साख चोगाएको नेबिसंघको इकाई समिति पनि बिद्यार्थीहरुलाई आकर्षित बनाउन लागि परेको छ। नेबिसंघले बिहीबार क्याम्पसमा अध्ययनरत छात्रा बिद्यार्थीहरुलाई सेनिटारी वितरण र क्याम्पस सुझाव पेटिका निर्माण गरेको छ।

मिसन स्ववियु चुनावमा लागेका बिद्यार्थीहरु व्यक्तिगत तथा संस्थागत रूपमा भोट लाग्ने र सङ्गठनमा टिकट दाबी गर्ने कार्यमा सक्रिय छन् । नेबिसंघ र अनेरास्ववियुको प्रतिस्पर्धा रहेको क्याम्पसमा दुवै सङ्गठन प्यानल बनाएर निर्वाचनमा होमिने तयारीमा रहेका छन् । विद्यार्थीको चुनावमा सङ्घ सङ्गठनलाई मातृ पार्टी र नेताहरूले समेत प्रभावित बनाउने भएकाले दुवै सङ्गठनका बिद्यार्थीहरुको निर्वाचनको जोड घटाउमा लागेका छन् ।

सप्तकोसी बहुमुखी क्याम्पस प्रशासनले पनि निर्वाचनलाई सफल बनाउन निर्वाचन समिति र बिद्यार्थीहरुलाई नाम लेखाउने मिति तय गरेर आव्हान गरेको छ।