इटहरी : इटहरी उपमहानगरपालिकाले आफ्नो नगरका २ हजार अति विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ । उपमहानगरले अति विपन्न परिवारलाई नेपाल सरकारले लागू गरेको स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउने भएको हो । जस अनुसार अधिकांशको निःशुल्क बिमा पाइसकेका छन् ।
इटहरीमा हेमकर्ण पौडेल मेयर निर्वाचित भए सँगै 'सबैका लागि सधैँका लागि स्वास्थ्य' भन्ने नारालाई अवलम्बन गर्दै स्वास्थ्यमा नगरबासीको पहुँच वृद्धि गर्दै लैजाने नीति तथा कार्यक्रम अन्तरगत बिमा कार्यक्रम सुरु गरेको हो । अहिले वडाको ९० जना अति विपन्न परिवारको तथ्याङ्क सङ्कलन गरी बिमा कार्यक्रम सुरु गरिएको हो । 
साधारण स्वास्थ्य समस्याको उपचारमा समेत पहुँच नभएका अति विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गराउने निर्णय गरेको नगर प्रमुख हेमकर्ण पौडेलले बताए । मेयर पौडेलका अनुसार नगरभित्रका अति विपन्न परिवारले उक्त निःशुल्क स्वास्थ्य बिमा पाउन वडाबाट सिफारिस भएर आउनु पर्नेछ । मेयर पौडेल भन्छन् यहाँका धेरै विपन्न नागरिकले स्वास्थ्य बिमा गरेका छैनन् । जसका कारण औषधि उपचार गर्न निकै असहज बनिरहेको थियो। अब स्वास्थ्य बिमा कार्ड लिएर स्वास्थ्य सेवा लिनेछन् । बर्षौ देखि लुकाएर राखेको रोगको जाँच तथा उपचार गर्न मद्दत मिल्नेछ । 
भवितव्य रूपमा आइपर्ने आर्थिक सङ्कटलाई समाधान गर्ने भएकोले नगरभित्रका गरिब तथा विपन्नहरूको निःशुल्क बिमा कार्यक्रम सञ्चालनमा ल्याएको मेयर पौडेलले बताए । विशेषतः आर्थिक रूपमा कमजोर भएका घरपरिवार बीमाको सेवाबाट टाढा रहेका छन् । तीनै घरपरिवारलाई मध्यनजर गर्दै आफ्नो घोषणापत्रमा अनुरूप स्वास्थ्य बिमा सञ्चालनमा ल्याएको उनको भनाई छ । 
अति विपन्न, दलित, एकल महिला, अति अशक्त र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क बिमा भनिएको छ । वडा कार्यालय सँगको समन्वयमा घरबाटै बीमामा आबद्ध हुने व्यवस्था गरिएको इटहरी उपमहानगरले जनाएको छ । बिमाकर्ताहरूको समन्वयमा घरमै पुगेर पाँच जना सम्मको परिवारको लागि ३५ सय रुपैयाँ तिरेर बिमा गर्ने गरेको इटहरी उपमहानगरपालिकाले जनाएको छ।