वराहक्षेत्र : वराहक्षेत्रमा नगरपालिका घोषणा भएको दिनको अवसरमा आयोजित नगर स्तरीय दौड प्रतियोगितामा वराहक्षेत्र-३ का यशराज विश्वकर्मा प्रथम भएका छन् ।
उनले निर्धारित दुरी २४ मिनेट २७ सेकेन्डमा पार गर्न सफल भएका थिए । त्यस्तै २४ मिनेट ४० सेकेन्डमा दुरी पार गर्दै वराहक्षेत्र-७ का सूर्य तामाङ दोस्रो, २४ मिनेट ५० सेकेन्डमा दुरी पार गर्दै वराहक्षेत्र-५ का रुपेश भुजेल तेस्रो, २४ मिनेट ५५ सेकेन्डमा दुरी पारगर्दै वराहक्षेत्र-२ का रोशन राई (विनोद) चौथो र २५ मिनेट ५० सेकेन्डमा दुरी पार गर्दै वराहक्षेत्र-८ का शरद राना नगर पाँचौँ हुन सफल भएका थिए ।
त्यस्तै महिला तर्फ निर्धारित दुरी ३५ मिनेटमा पार गर्दै रविना भुजेल प्रथम हुन सफल भइन । निर्धारित दुरी ३९ मिनेटमा पार गर्दै रिना खङ्ग दोस्रो र निर्धारित दुरी ४० मिनेटमा पार गर्दै कृष्णा राई तेस्रो हुन सफल भएकी थिइन् ।
साबिकका ५ वटा गाउँ विकास समितिहरू मिलेर २०७३ साल फाल्गुन २७ गते हालको वराहक्षेत्र तत्कालीन वराह नगरपालिका घोषणा भएको दिनको अवसरमा स्थापना दिवस मनाउने निर्णय अनुसार तिन दिवसीय कार्यक्रम अन्तर्गत दौड प्रतियोगिता आयोजना भएको हो ।
नगरपालिका कार्यालयको गेटबाट सुरु दौड मुनाल चौक, महेन्द्र गेट, सोमबारे, किरात टोल, बाङ्गे हुँदै बिष्टिनी चोकबाट महेन्द्र गेट हुँदै पुनः नगरपालिकाको कार्यालयसम्म ८ किलोमिटर दुरी निर्धारण गरिएको थियो ।