धरान : धरानमा स्थापना भएको प्रदेश स्तरीय दुर्व्यसनी सुधार केन्द्र, नेपाल प्रहरी श्रीमती सङ्घद्वारा सञ्चालित आसरा सुधार केन्द्रको पाँचौँ वार्षिकोत्सव बुधवार तेस्रो साधारण सभा सहित सम्पन्न भएको छ ।
सभामा केन्द्रको वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएता पनि सञ्चार माध्यममा प्रकाशनका लागि भने उपलब्ध गरिएन । धरान-६ पानबारी स्थित सुधार केन्द्र धरानका स्थानिय समुदायको सहयोगमा निर्माण भएको हो ।
२०७५ सालमा उद्घाटन भई प्रदेशकै सुविधा सम्पन्न सुधार केन्द्रको रूपमा सञ्चालन हुन थालेको केन्द्रको वार्षिक प्रतिवेदन अहिले सम्म सार्वजनिक भएको पाइन्न । पाँचौँ वार्षिकोत्सव तथा साधारण सभामा सदस्य सचिव प्रहरी निरीक्षक उमेश राईले प्रतिवेदन प्रस्तुत गरेका थिए । मौखिक रूपमा प्रस्तुत प्रतिवेदन समाचारका लागि भने उपलब्ध नगराइएको हो ।
साधारण सभामा नेपाल प्रहरी श्रीमती सङ्घ अध्यक्ष तथा आसरा सुधार केन्द्र रानीवारिकी अध्यक्ष कुसुम लाता श्रेष्ठको प्रमुख अतिथि थिइन्। अध्यक्ष श्रेष्ठले पानसमा बत्ती बाल्दै र नवनिर्मित भगवती मन्दिरको रिबन काटेर सभा उद्घाटन गरेकी हुन् ।
सभामा कार्य सञ्चालन समिति सदस्य शिला बज्राचार्यले स्वागत मन्तव्य राखेकी थिइन् । सभामा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ, उपप्रमुख आईन्द्र विक्रम बेघा, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक जयप्रसाद सापकोटा, कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका समादेशक राजेश नाथ बास्तोला विशेष अतिथि थिए ।
यस्तै कोशी प्रदेश श्रीमती सङ्घ महासचिव अजिता देवकोटा बास्तोला, कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख तथा केन्द्रका प्रमुख संरक्षक प्रहरी नायव महानिरीक्षक श्यामलाल ज्ञवाली आसरा सुधार केन्द्र, रानीवारी सचिव र कोशी प्रदेश प्रहरी श्रीमती सङ्घ अध्यक्ष, आसरा सुधार केन्द्र पानवारी धरान संरक्षक सिता ज्ञवाली लगायतको उपस्थिति थियो ।