धरान : कोशी प्रदेश नाम खारेज गरी पूनः नामकरण गर्न माग गर्दै सुरु भएको शान्तिपूर्ण आन्दोलनलाई प्रहरी प्रशासन नै भड्काउने दिशामा अग्रसर भएको देखिएको छ । आज विराटनगरमा भएको कविता वाचनमा प्रहरीले हस्तक्षेप गरी स्रष्टाहरूलाई गिरफ्तार गर्ने कार्यले त्यस्तो देखिएको हो ।
पूनः नामकरण संयुक्त सङ्घर्ष समितिले चैत ५ गते विराटनगरमा प्रदर्शन सहित प्रदेश सभा घेराउ गर्ने तयारी गर्दैछ । त्यही पूर्व तयारीको क्रममा आज किरात राई लेखक सङ्घ, याक्थुङ लेखक सङ्घ र किरात अन्तर्राष्ट्रिय सांस्कृतिक अभियानद्वारा आयोजित ‘पहिचानका लागि सडक साहित्यिक यात्रा’ कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्‍यो ।
कार्यक्रममा कविता वाचन गर्न लाग्दा प्रहरीले पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष समेत रहेका जनकऋषि राई र सञ्जय याख्खालाई गिरफ्तार गर्‍यो । जनकऋषि साहित्यिक स्रष्टा, सांस्कृतिक अभियन्ता पनि हुन् । उनीहरूलाई केहीबेरमा मुक्त गरे पनि यसबाट प्रहरी प्रशासनले शान्तिपूर्ण विरोध भए पनि जो कोहीलाई पनि नछाड्ने सङ्केत दिएको बुझिन्छ । 
प्रदेश सभामा कोशी प्रदेश नामाङ्कनको प्रक्रियाकै बेला मोरङ जिल्ला प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो । प्रहरीले त्यही आदेशको निहुँमा स्रष्टाहरूलाई समेत पक्राउ गर्नु तिन दिनपछिको प्रदर्शनमा बल प्रयोग गर्ने पूर्व सङ्केत दिएको अर्थमा सङ्घर्ष समितिले लिएको छ । 
समितिको मूल घटक किरात याक्थुङ चुम्लुङका राष्ट्रिय चुम्लुङ सदस्य ताजुब लिम्बुले सामाजिक सञ्जालमा भनेका छन् ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा सुन्दर पक्ष भनेकै आफ्नो मत शान्तिपूर्ण रूपमा राख्न र विरोध गर्न पाउँछ तर आज विरोध गर्नु अपराध करार दिँदै शान्तिपूर्ण विरोधमा प्रहरी प्रशासन प्रयोग गरी गिरफ्तार गर्ने कार्यले यो सरकार नश्लिय चिन्तनको आधारमा अगाडि बढ्न उद्धत छ भन्ने पुष्टि भएको छ ।’
लोकतन्त्रमा हुने शान्ति आन्दोलनप्रति प्रहरी प्रशासनको संयमताको अभावले अप्रिय घटना हुनसक्ने धेरै उदाहरणहरू छन् । पहिचानको आन्दोलनमा कविता वाचन जस्तो सिर्जनात्मक विरोधमा समेत भएको हस्तक्षेपले प्रहरी प्रशासन आफै आन्दोलनलाई भड्काउने रणनीतिमा लागेको हो कि भन्ने आशङ्का बढेको छ ।