धरान : धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले आज शुक्रवार सिफारिस पत्र लिन पुगेका सेवाग्राही नागरिक धरान-११ का सन्तोष लिम्बुलाई इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली बोलाएर कार्यकक्षबाटै पक्राउ गराएका छन् ।

लिम्बु विराटनगर स्थित कोशी भू-आर्जन कार्यालयका पूर्व भू-आर्जन अधिकृत हुन् । उनका अनुसार मेयरको कार्यकक्षमा वादविवाद हुँदा ‘हजुर त राणा शासनको जस्तै व्यवहार गर्नु हुन्छ त श्री ३ हो भनेर प्रश्न गर्दा’ उनले भने ‘मलाई कार्यकक्षदेखि नगर प्रहरी लगाई बाहिर निकालेर प्रहरी बोलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय पुर्‍याए ।’

उनी धरान-११ स्थित गौरी गाउँको पुच्छरमा खोलाले अतिक्रमण गरेपछि तटबन्धन गर्न सिफारिस पत्र लिन मेयर कार्यकक्षमा पुगेका थिए । लिम्बुले जलस्रोत तथा सिचाई डिभिजन कार्यालय इनरुवामा जाली तथा ढुङ्गाको लागि बजेट माग गर्न सिफारिस पत्रका लागि उपमहानगरपालिका पुगेको जानकारी दिए ।

लिम्बुको सिफारिस पत्र ३ दिन अघि मेयरको टेबुलमा पुगेको थियो । मेयरलाई भेटेर सिफारिस पत्रमा हस्ताक्षर गर्न आग्रह गरे पनि विभिन्न कारण देखाउँदै रोकेर राखिएको उनले बताए । उनका अनुसार ३ दिन देखी मेयरलाई भेट्न खोज्दा पनि भेटिएन । एक दिन १० बजे देखी ४ सम्म मेयरको कार्य कक्ष बाहिर पर्खिदा पनि भेट दिएनन् ।

आज भने लिम्बुले आफ्नो प्रतिनिधि कार्यालयका पठाएको थिए । उनलाई मेयर साम्पाङले ‘तपाई कुन पार्टीको मान्छे हो ? सम्बन्धित मान्छे खोइ ?’ भन्ने प्रश्न गर्दै सिफारिस रोकिदिए पछि आफू नै कार्यालय पुगेको सेवाग्राही लिम्बुले बताए । 

उनले मेयरलाई भनेको कुरा उद्धृत गर्दै भने ‘मेयर साब हजुर त चुस्त दुरुस्त कार्य गर्ने मान्छे किन सिफारिस रोक्नु भएको ? हामी सेवाग्राहीलाई दुःख कति दिनु भएको ?’ मेयरले भने ‘म हेर्छु टाइम लाग्छ भन्दै भने पछि अलिकति चर्काचर्की भएको हो ।’ 

यसै बिच मेयर साम्पाङले नगर प्रहरी बोलाई लिम्बुलाई कार्यकक्षबाट बाहिर निकाले । कार्यकक्षबाट बाहिर निकाले पछि इलाका प्रहरी कार्यालयबाट बोलाइएको प्रहरी टोली आएर लिम्बुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय पुर्‍याइएको हो ।  

लिम्बुलाई इलाका प्रहरी कार्यालयमा राखिएको अवस्थामा उपमेयर आईन्द्र बेघा सहितको टोली इलाका प्रहरी कार्यालय पुगेको थियो । टोलीमा धरान-१७ का वडा अध्यक्ष सूर्य बहादुर भट्टराई मनोज, वडा-३ का वडा सदस्य मिङमा भोटे लगायत थिए । सोही टोलीले लिम्बुलाई इलाका प्रहरीबाट जिम्मा लिएर आएको थियो।