धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कार्य र व्यवहार कार्यपालिकाप्रति गैर जिम्मेवार भएको पद र अधिकारको दुरुपयोग गरेको आरोप लगाउँदै २० वटै वडाध्यक्ष एवं कार्यपालिका सदस्यहरूले २४ घण्टे अल्टिमेटम दिएका छन् ।
मेयर साम्पाङले कार्यशैली सच्याउनु पर्ने, माफी माग्नु पर्ने ५ बुँदे माग अल्टिमेटमको समयावधिमा पुरा नभए चरणबद्ध रूपमा सशक्त आन्दोलन गर्ने कार्यपालिका परिसरमा आज आइतबार आयोजित पत्रकार सम्मेलनमा वडाध्यक्षहरूले चेतावनी दिएको बताएका छन् । 
मेयर साम्पाङले पटक पटक वडाध्यक्ष, कार्यपालिका सद्स्यहरुको मानमर्दन गर्दै अशोभनीय व्यवहार गर्दै आएको पत्रकार सम्मेलनमा बताइएको छ । उनले नियम, कानुन विपरीत योग्यता नपुगेका कर्मचारीलाई सचिवालयमा राखेको दाबी गरिएको छ । 
मेयरका स्वकीय सचिव भनेर सुदर्शन लिम्बुले कार्यपालिकाको लेटर प्याड दुरुपयोग गरेकोमा आपत्ति जनाउँदा वडा अध्यक्षहरूलाई मानमर्दन गरिएको आरोप लगाइएको छ । कानुनी रूपमा छैटौँ तहको पद स्वकीय सचिवमा मेयर साम्पाङले रसिक थेबे लाई तोक आदेशबाट नियुक्त गरेका छन् । 
स्वकीय सचिवको काम भने चौथो तहको सहायक सचिवको पदमा नियुक्ति दिएको सुदर्शन लिम्बूले गरिरहेको पत्रकार सम्मेलनमा वडा १७ का अध्यक्ष प्रवक्ता सूर्य बहादुर भट्टराईले बताए । उनले भने ‘उपमहानगरपालिकामा भर्खर सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृतलाई नियम, कानुन विपरीत ७ बुँदे सर्तमा हस्ताक्षर गर्न दबाब दिएका छन् ।’
वडाध्यक्ष एवं कार्यपालिका सदस्यहरूले मेयर साम्पाङ मनोमानी, स्वेच्छाचारी र एकल निर्णयका आधारमा चलेको आरोप लगाए । उनीहरूले वडा १० का अध्यक्ष विवेक राईलाई झुटो आरोप लगाएर ऐन विपरीत स्पष्टीकरण माग गरेकोमा मेयर साम्पाङले आत्मालोचना गरी सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका छन् । 
योग्यता नपुगेको व्यक्ति मार्फत ठाडो भाषामा वडा अध्यक्षहरूलाई निर्देशनात्मक पत्राचार गर्न लगाएर मेयर साम्पाङले पदको दुरुपयोग गरेकोमा आत्मालोचना सहित भुल सुधार गर्नुपर्ने पर्ने उनीहरूको माग छ । साथै लेटरप्याडको दुरुपयोग गर्ने सहायक स्वकीय सचिव सुर्दसन लिम्बुलाई कारबाहीको माग गरिएको छ । 
नगर प्रमुखले स्थगित गरेको कार्यपालिका बैठक तुरुन्त बोलाउनु पर्ने माग पनि उनीहरूले गरेका छन् । सुकुम्वासी, अव्यवस्थित बसोबासीहरुले खानेपानी तथा बिजुली प्रयोग गर्न पाउने अधिकार सुनिश्चित गर्न माग गरिएको छ ।
वडा अध्यक्षहरूले नियमानुसार प्रयोग गर्दै आएको सिफारिस गर्ने अधिकार कार्यान्वयन हुनु पर्ने माग गरिएको छ । सङ्घ तथा प्रदेश बाट आउने योजनाको सिफारिस रोक्का गरी धरानको विकासमा अवरोध गरिएकाले सिफारिस खुल्ला गर्नुपर्ने माग गरिएको छ ।
सेवाग्राहीलाई सेवाबाट वञ्चित गरी पक्राउ समेत गराउने जस्तो अशोभनीय हर्कत बन्द गर्न माग गरिएको छ । मेयर साम्पाङले नियुक्त गरेका सहायक स्वकीय सचिव सुदर्शन लिम्बुको योग्यता नपुगेको र उनले स्वकीय सचिव भनेर पद, लेटर प्याड र अधिकारको दुरुपयोग गरेकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिइने वडा अध्यक्ष प्रवक्ता भट्टराईले बताए ।