धरान : धरान उपमहानगरपालिका मेयर एवं धरान खानेपानी बोर्डका अध्यक्ष हर्क साम्पाङले खानेपानीका लागि भूपू सैनिक समुदाय, देश विदेशका दाताहरूबाट १० करोड रुपया भन्दा बढीको निर्माण तथा सुधार कार्य गरेको र त्यसबाट १० महिनामा खानेपानीमा व्यापक सुधार ल्याएको दाबी गरेका छन् । 
मेयर साम्पाङ धराको खानेपानी व्यवस्थाको सुधारका लागि निकै काम भएको कुरालाई नकार्न सकिन्न । उनी मेयर र खानेपानी बोर्डको अध्यक्ष समेत भएकाले उक्त कार्यहरू दुई मध्ये एक निकायको योजना अनुसार भएको हुनसक्ने आम उपभोक्तालाई लाग्न सक्छ । 
मेयर साम्पाङको फेसबुक पेज ‘हर्क साम्पाङ ए रेभुलुसन’को स्ट्याटसमा उक्त कुरा उल्लेख भएको देखिएपछि ‘कपुरी’ ले आधिकारिक रूपमा पुष्टि गर्ने प्रयास गर्‍यो । उनले फेसबुकमा ‘मेरा विरोधीहरूको नजरमा मैले गरेको गल्तीहरू यिनै हुन ?’ भन्दै २२ वटा बुँदा लेखेका छन् ।
त्यस मध्ये बुँदा ९ मा लेखेका छन् ‘खानेपानीका लागि भू.पु. सैनिक समुदाय, देश विदेशका दाताहरूलाई योगदान दिन लगाएर १० करोड भन्दा बढीको निर्माण तथा सुधार गरेर दस महिना मै खानेपानीमा व्यापक सुधार ल्याएँ ?’ यति ठुलो योजनाका लागि मेयर साम्पाङ प्रशंसाका पात्र हुन ।
उक्त कामको उल्लेख भने उपमहानगरपालिका तथा खानेपानी बोर्डको तथ्याङ्कमा भएको पाइन्न । मेयर साम्पाङको कार्यकालको १० महिने अवधिको बारेमा खानेपानीमा भएका कामको उपमहानगरपालिका वा खानेपानी बोर्डको दस्ताबेजमा उल्लेख नहुनु दुर्भाग्यपूर्ण हुन्छ । मेयरको हैसियतमा त्यसलाई वैधता दिलाउन भने जरुरी देखिएको छ ।
धरान उपमहानगरपालिका, कार्यपालिका सदस्य वडा १३ का अध्यक्ष नेत्र काफ्ले भने ‘मेयर साबले फेसबुकमा लेखेको १० करोडको योजना नगरपालिकाको योजना, बजेट, कार्यक्रम, प्रगति विवरण कतै उल्लेख छैन ।’ जनसरोकार मञ्च जस्तो छुट्टै एनजीओबाट भएको हो भने भिन्नै कुरा भयो, उपमहानगरपालिकाबाट भएको काम कतै देखिँदैन' ।
उनका अनुसार सर्दुखुर्दुको आँपगाछीमा पानी ट्याङ्की बनाउन ब्रिटिस वेल्फेयरले ३ करोड ३९ लाख रुपया सहयोगको सम्झौतामा मेयर तथा दुई जना वडाध्यक्षले पनि हस्ताक्षर गरेकाले त्यसको हिसाब उपमहानगरपालिकामा हुनसक्ने बताए । उक्त ट्याङ्की निर्माणको अनुगमन वडा-१६ का क्याप्टेन झप्तमान लिम्बुले गरिरहेको काफ्लेको भनाई छ । 
धरान खानेपानी बोर्डमा पनि मेयर साम्पाङले उल्लेख गरेको १० करोडको योजनाका दस्ताबेज छैन । बोर्डका सदस्य श्याम पोखरेलले मेयर साम्पाङ आएपछि हाल सम्म बोर्डको एकै पटक पनि बैठक नबसेको बताए । उनले भने ‘खानेपानी बोर्डलाई कुनै पनि कामको जानकारी छैन ।’ मेयरले आफ्नै तरिकाले समानान्तर सरकार चलाए झैँ काम गरिरहेको उनको भनाई छ ।   
मेयर साम्पाङले फेसबुकमा लेखेका स्टाटसहरु भाइरल हुँदै नै आएका छन् । त्यस मध्ये केही बुँदा उल्लेखनीय छन् । १४ औँ बुँदामा लेखेका छन् ‘केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारको अस्तित्व र समन्वय स्थापित गरेँ ? स्थानीय सरकारको साइन बोर्ड लगाएँ । नगरपालिकालाई स्थानीय सरकार बनाएँ ।’
बुँदामा २ मा कार्यपालिका बैठक देखि हरेक कामकाजमा पारदर्शिता ल्याएँ ? शासक र जनता बिच रहने दूरीलाई सेवक र जनता बिचको घनिष्ठता परिणत गरेँ । नेता बिलासी र हैकमी बन्नु हुँदैन । जनता भन्दा धेरै दुःख गर्नु पर्छ भन्ने उदाहरण देखाएँ ।
१९ औँ बुँदा डोजर, रोलर, टिफर जस्ता निर्माणका लागि चाहिने मेसिन जोडेर नगरलाई आत्मनिर्भर बनाउन पहल गरेँ। आफ्नो निर्माण हामी आफैले गरौँ भन्ने कार्य थालनी गरेँ ? भनी उल्लेख छ । उनले पहिलो प्राथमिकता दिएको बुँदा १ मा प्रश्न गरेका छन् ‘दश महिना अघि देखि विकास निर्माणका लागि ढुङ्गा बोकाको छ, बोकाको छ ? गिट्टी कुटाकोछ कुटाकोछ ? पाइप तनाको तनाकै । यस्तो दुःख दिने नकाम गरेँ ।