वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले जमिनको वर्गीकरणको काम अन्तिम चरणमा पुराएको छ। भू-उपयोग ऐन-२०७६ अनुसार नगरपालिकाले भू-उपयोग नीति तयार गरी नगर क्षेत्रका जग्गाको वर्गीकरण गर्ने कार्य अन्तिम चरणमा पुगेको हो ।
११ वटै वडामा पुगेर नगरपालिकाले जमिनको वर्गीकरण र भू-उपयोग नीति निर्माणको लागि अन्तर्क्रिया समेत गरेको थियो । जग्गा वर्गीकरण गर्न जिम्मेवारी पाएको डिजि निर्माण इन्जिनियरिङ प्रालीले परामर्श छलफल र मापदण्ड निर्धारण कार्य अन्तिम चरणमा
पुगेकाले प्राविधिक प्रतिवेदन स्थानीय भू-उपयोग परिषदबाट स्वीकृत भएपछि मालपोत कार्यालय नापी कार्यालयमा पठाइने छ।
सोमवार नगर प्रमुख रमेश कार्की, उप-प्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत ऋद्धि प्रकाश सिटौला, वडाअध्यक्षहरु, नापी शाखाका कर्मचारी, निर्माण इन्जिनियरिङ प्रालीका प्राविधिक सहितका सरोकारवालाहरू बिच भू-उपयोग नीति तथा जमिनको वर्गीकरणको विषयमा छलफल गरिएको थियो ।
नगरका ११ वटै वडाको जीआइएस प्रणालीको माध्यमबाट नक्शांकन कार्य सकिएकाले अन्तिम प्रतिवेदन तयारीका लागि स्थानीय भू-उपयोगी परिसदबाट स्वीकृत भएपछि चाँडै वर्गीकरण कार्य टुङ्ग्याइने छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जारी गरेको भू-उपयोग नियमावली २०७९ तोकेको मापदण्डभित्र रहेर नगर क्षेत्रका जग्गालाई विभिन्न समूहमा वर्गीकरण गरिएकाले कित्ता नम्बर उल्लेख गरी प्रतिवेदन तयार पार्ने क्रम लगभग सकिएकाले छिट्टै कित्ताकाट खुल्ने नगरपालिकाका अमिन शाखाका प्राविधिक बलराम विष्टले बताए ।
२२२.९ वर्ग किमी क्षेत्रफल रहेको नगरपालिकामा आवासीय क्षेत्र २२ दशमलव ३४ प्रतिशत, नदीनाला २३ दशमलव २४ प्रतिशत,  औद्योगिक क्षेत्र ० दशमलव ०३ प्रतिशत, धार्मिक तथा पुरातात्त्विक महत्त्वको क्षेत्र ० दशमलव १५ प्रतिशत, कृषि क्षेत्र २३ दशमलव ६२ प्रतिशत, व्यावसायिक क्षेत्र ० दशमलव ५६ प्रतिशत, सार्वजनिक क्षेत्र १ दशमलव ६४ प्रतिशत र वन जङ्गल २८ दशमलव ४२ प्रतिशत तोकिएका क्षेत्र छुट्याएर जग्गाको वर्गीकरण कार्य गरिने र तोकिएका मापदण्डलाई आधार मानेर विज्ञहरूको परामर्शअनुसार ११ वटै वडाका जग्गा वर्गीकरण गरी नयाँ नक्सा जारी गरिने नगर प्रमुख रमेश कार्कीले बताए ।
baraha-bhumi-bargiakaran