धरान : वडा अध्यक्षहरूको मागका विषयमा बैठक बोलाउन अघि मेयर हर्क साम्पाङले समन्वय नगरेको भन्दै एमाले, काँग्रेस, माओवादीका वडाध्यक्षहरू अनुपस्थित रहेपछि धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक आज स्थगित भयो ।

मेयर साम्पाङ र वडाध्यक्षहरू बिच विवाद उत्पन्न भएपछि रोकिएको बैठक महिना दिनपछि बोलाइएको बैठक पनि स्थगित भएको हो । गएको चैत १ गते बैठक मेयरका स्वकीय सचिवको विषयमा विवाद भएपछि स्थगित भएको थियो ।

यसबिच विवाद मिलाउन मेयर साम्पाङ र वडाध्यक्षहरू बिच छलफल भए पनि उनीहरू बैठकमा अनुपस्थित भएका हुन । वडा १७ का अध्यक्ष सूर्यबहादुर भट्टराई मनोजका अनुसार मेयर साम्पाङ सँग यसअघि भएको छलफलमा बैठक बोलाउनुअघि पुनः समन्वय गर्ने सहमति भएको थियो ।

भट्टराईले भने ‘तर आजको बैठक बोलाउन अघि समन्वयका लागि छलफल नगरिएको साथै वडाध्यहरुको मागको सम्बोधन नभएकोले बैठकमा सहभागी नहुने निर्णय गरिएको हो ।’

आजको बैठकमा ३ जना वडाध्यक्ष भने उपस्थित भए । मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, अध्यक्षहरू वडा ६ का भूपेन्द्र भट्टराई, वडा १४ का कृष्ण भट्टराई र ४ का धनबहादुर राई उपस्थित थिए ।

बैठक स्थगित भएपछि मेयर साम्पाङले बैठक भोलि र पर्सि पनि निरन्तर बोलाउने सञ्चारकर्मीहरूलाई बताए ।

कार्यपालिकाका प्रवक्ता समेत रहेका वडा १७ का अध्यक्ष सूर्यबहादुर भट्टराई मनोजले भने पाँच बुँदे माग पुरा नभएसम्म बैठकमा सहभागी हुँदैनौँ ।’

अघिल्लो दिन कार्यपालिका बैठकमा सहभागी हुने कि नहुने भन्ने बारेमा एमाले, काँग्रेस र माओवादी केन्द्रका संसदीय दलका नेताहरूको संयुक्त बैठक बसेको थियो । आज बिहान एमाले र काँग्रेसका वडाध्यक्षहरूको छुट्टाछुट्टै बैठक पनि बसेको थियो ।

लगत्तै संसदीय दलका नेताहरू एमालेमा नरेश इवारम, काँग्रेसका प्रवीण राई र माओवादीका सूर्यबहादुर भट्टराईको संयुक्त बैठकले कार्यपालिका बैठकमा सहभागी नहुने निर्णय गरेको बताइएको छ ।

स्थगित बैठकमा प्रस्तुत गर्न मुख्य एजेण्डा नयाँ प्रमुख प्रशासकीय अधिकृतसँग परिचय, नगर शिक्षा समिति गठन, नदीजन्य उत्खनन उपयोग र व्यवस्थापन सम्बन्धी स्थानिय मापदण्ड २०७९ कार्यान्वयन लगायत मस्यौदा गरिएको थियो ।