वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं.८ स्थित शिव शक्ति चौकबाट जितपुरहुँदै भण्डारी चौकसम्मको सडक कालोपत्रे हुने भएको छ।

सङ्घीय सहरी विकास मन्त्रालयको योजना अनुसार सङ्घीय इकाई कार्य आयोजना विराटनगर अन्तरगत निर्माणाधीन योजना अन्तरगत उक्त सडक कालोपत्रे हुनेछ ।

ग्रामीण सडकको रूपमा रहेको उक्त सडक रामधुनी र वराहक्षेत्र चक्रघट्टि जोड्ने योजना अन्तर्गत माननीय पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको पहलबाट सुरु भएको थियो । रामधुनीको बैढारदेखि सुरु योजना अन्तरगत हाल वराहक्षेत्र नगरपालिकाको शिव शक्ति चौकसम्मको सडक कालोपत्रे  सम्पन्न भइसकेको छ ।

शिवशक्ती चौकदेखि जितपुर हुँदै भण्डारी चौकसम्मको सडक कालोपत्रेकालागि बिहीबारबाट प्राविधिकहरूले काम सुरु गरेको नगर प्रमुख रमेश कार्कीले बताए । योजनालाई सम्पन्न बनाउन सङ्घीय इकाई कार्य आयोजना, निर्माण कम्पनीसँग समन्वय सुरु गरिएको नगर प्रमुख कार्की बताउँछन् ।

शिवशक्ति चोक देखि जितपुरहुँदै भण्डारी चौकसम्म करिब १४ सय मिटर बाटो कालोपत्रे तत्काल हुनेछ । बिहीबार उक्त सडकको नगर प्रमुख रमेश कार्की, वडा नं.८ का अध्यक्ष रोशन खड्का, सहरी विकास इन्जिनियर र निर्माण कम्पनीका प्राविधिकले निरीक्षण गरेका थिए ।

Pool-Udghatnan

बिहीबार बिहान नै नगर प्रमुख रमेश कार्कीले वराहक्षेत्र-८ स्थित कालापानीमा सुनसरी-मोरङ सिचाई योजना अन्तरगतको नहरमा निर्माण भएको पुलको समेत उद्घाटन गरेका छन् ।

नगरपालिकाको चालु आ.व.को सात लाख ५० हजार बजेट बाट उक्त पुल उपभोक्ता समिति मार्फत निर्माण भएको वडाध्यक्ष रोशन खड्काले बताए ।