धरान : धरान वडा १७ डाँडा घोपाका ३ जना युवालाई प्रहरीले २ थान हातहतियार पेस्तोल सहित आइतबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा डाँडा घोपाका २९ वर्षीय हुकमेन जिमी, उनका भाइ पर्ने २४ वर्षीय दीपक जिमी र धरान–१५ का २४ वर्षीय रोहित राई छन् ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय धरान र कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको आरआइटी समूहले पक्राउ गरेको आज सोमवार सार्वजनिक गर्दै इलाका प्रहरी धरानका डिएसपी नवराज मल्लले जानकारी दिएका हुन् ।

डिएसपी मल्लका अनुसार हुकमेन र दीपक जिमीलाई उनको घरबाट नियन्त्रणमा लिइएको हो । हुकमेनले २ थान पेस्तोल किनेर ल्याई १ थान दीपकलाई राख्न दिएका थिए । अर्को १ थान रोहितलाई दिएको बयान दिएको डिएसपी मल्लले बताए ।

उनका अनुसार हुकमेनको घरदेखि पश्चिम तर्फ सर्दु खोलाको झाडीमा १ थान पेस्तोल फेला परेको छ । प्रहरीले सोही राती रोहितको घर कोठा खानतलासी गर्दा पलङको डसना मुनी लुकाई राखेको अवस्थामा म्यागेजिन सहितको मेड इन इटाली लेखिएको १ थान पेस्तोल फेला परेको हो । उनीहरूलाई ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यसैबिच इलाका प्रहरी धरानले ३ महिनाको कार्यविवरण पनि सार्वजनिक गरेको छ । तीन महिनामा प्रहरीले १५७ वटा मुद्दामा दर्ता गरेको छ । ती मुद्दाका १४२ पुरुष र ९ जना महिलालाई पक्राउ गरेको छ ११ महिला र ५२ जना प्रतिवादी फरार रहेका छन् । जरिवाना बापत १५ लाख ५३ हजार १९२ रुपैयाँ राजस्व सङ्कलन पनि गरेको छ ।

gun-3