इटहरी : इटहरी साना सहरी खानेपानी उपभोक्ता संस्थाको जग्गा खरिदमा आवेदन नपरेपछि ५८ करोडको आयोजना प्रभावित भएको छ ।

इटहरी-१९ मा ओभरहेड ट्याङ्की तथा डिपवेल निर्माणको लागि जग्गा खरिद गर्न आह्वान गरिएको सूचनामा एउटा पनि आवेदन नपरेको हो । नेपाल सरकारको सहरी खानेपानी आयोजनाले निर्माण गर्नेगरी जग्गा खरिद गर्न लागिएको तर जग्गाको लागि एउटा पनि आवेदन नपरेको संस्थाका व्यवस्थापन हरि कटवालले बताए ।

एउटा ओभरहेड ट्याङ्की र तिनवटा डिपवेल निर्माण गर्न लागिएको भए पनि जग्गा अभावमा आयोजना प्रभावित भएको उनको भनाई छ। इटहरी खानेपानी संस्थाले २० वटै वडामा स्वच्छ पानी आपूर्ति गर्ने योजना अगाडी बढाएको छ ।

इटहरी-१९ को आयोजना प्रभावित भए पनि आगामी आर्थिक वर्षदेखि निर्माण कार्य सुरु हुने गरी इटहरी १७, १६ र १० नम्बर वडामा नयाँ ट्याङ्की निर्माण हुने भएको छ। तिनवटै क्षेत्रको लागि आवश्यक जग्गा यसअघि नै उपलब्ध गराउन सकिएको कारण सहरी खानेपानी आयोजनाकै लागतमा ट्याङ्की तथा डिपवेल निर्माण गर्न लागेको हो ।

चार वटै आयोजनाको लागि कुल २ अर्ब ३२ करोडको लगानी सम्झौता भएको तर १९ नम्बर वडामा जग्गा नभएको कारण ५८ करोडको आयोजना गुमेको व्यवस्थापक कटवालले जानकारी दिए । गत वैशाख २१ गते प्रकाशित सूचना नम्बर ०३/२०७९/२०८० मा ३१ भित्र बोलपत्र बुझाउनु पर्ने उल्लेख गरिएको थियो ।
समय सीमाभित्र एउटा आवेदन फारम विक्री भए पनि बुझाउन कोही पनि नपुगेको कटवालले जानकारी दिए । बढीमा १५ कट्ठा सम्म क्षेत्रफल भएको जग्गा ‘जङ्गलको सीमा क्षेत्रबाट दक्षिण, रामधुनि नगरपालिका वडा नं. ७ को सिमानाबाट पूर्व बरमपुर चौकबाट पश्चिम र जंगलु टोलको सिधा पूर्व पश्चिमको उत्तर’ मा हुनुपर्ने सूचनामा उल्लेख गरिएको थियो । इटहरी उपमहानगरपालिका भित्र हाल ४ वटा खानेपानी संस्था सञ्चालनमा छन् ।
पकली, तरहरा, इटहरी र खनार खानेपानी संस्थाले आआफ्नै हिसाबमा पानी वितरण गरिरहेका छन् । त्यसमध्ये इटहरी खानेपानी संस्थाका उपभोक्ता सबैभन्दा बढी छन् । सबै संस्थालाई एकै ठाउँमा गाभेर खानेपानी बोर्ड बनाउने विषयमा उपमहानगरले अध्ययन गरिरहेको छ ।