धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको वर्तमान विश्वविद्यालयमय स्वरूपलाई खारेज गरी सरकारले छाता ऐनमा गाभेर मेडिकल कलेजमा झाने तयारीको विरोधमा आज शनिवार बिहान मौन जुलुस प्रदर्शन गरिएको छ।
प्रतिष्ठानका डाक्टर, नर्स, विद्यार्थी, कर्मचारी सहित धरानमा गठित सङ्घर्ष समिति सहित नागरिक समाज, राजनीतिक दल, आदिवासी जनजातिहरू जुलुस प्रदर्शनमा सहभागी थिए ।
छाता ऐनको विरोधमा प्रतिष्ठानका सबै आन्दोलित भएपछि संयुक्त विरोध जुलुस प्रदर्शन गरिएको हो । जुलुसका सहभागीहरूले छातीमा विभिन्न नारा लेखिएका प्लेकार्ड टाँसेका थिए । प्लेकार्डमा ‘जबरजस्ती नगर सरकार छाता ऐन हामी मान्दैनौँ ।’ हाम्रो एकता अमर रहोस्, स्वायत्तता अपहरण गर्न पाइँदैन, छाता ऐन मान्दैनौँ, बिपीको रक्षा गर, छाता ऐन मान्दैनौ नाराहरू प्लेकार्डमा लेखिएका थिए । मौन जुलुस बिपी प्रतिष्ठानको मूल गेटबाट सुरु भएको थियो ।
जुलुस, चतरालाइन हुँदै छाता चोकबाट भानुचोकमा पुगेर कोणसभामा परिणत भयो । कोणसभामा बिपी प्रतिष्ठान बचाउ सङ्घर्ष समितिका संयोजक मुक्साहाङ मेन्याङवोले देश सङ्घीयतामा गएकोले सङ्घीयताको मर्म र भावना विपरीत केन्द्रीकृत अधिकार गाउँ गाउँमा पुर्याउनु पर्नेमा सरकार उल्टो गतिमा हिँडेको आरोप लगाए ।
उनले भने ‘बिश्वबिद्यालयको मोडलमा सञ्चालन भएको वीपी प्रतिष्ठानलाई आङ्गिक कलेज बनाउन जरुरी छैन ।’ छाता ऐन धरानबासीलाई मान्य नभएको बताउँदै उनले अधिकार प्राप्तिका लागी जस्तो जुनसुकै सघंर्ष गर्न तयार भएको उद्घोष गरे ।



































































