धरान : महिलाहरूलाई उद्यमशील बनाउने अभियानका लागि गठन भएको उद्यमशील महिला सङ्घ सुनसरी शाखा अध्यक्षमा निर्वाचित रञ्जु सिग्देलको १९ सदस्यीय कार्यसमितिले सोमवार पदभार ग्रहण गरेको छ।

सङ्घद्वारा सोमवार आयोजित कार्यक्रममा नयाँ कार्यसमितिको पदस्थापन गरिएको हो । नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष पार्वता रसाइली, प्रथम उपाध्यक्ष सृजना भट्टराई, द्वितीय उपाध्यक्ष मिना घिमिरे, महासचिव पूण्यवती शिवाकोटी, सचिव चन्द्र धिताल, कोषाध्यक्ष सुलेखा जोशी छन् ।

सदस्यहरूमा टिका लाखे, बिन्दा प्रधान, सुनिता दाहाल, जुली ताम्राकार, सरस्वती श्रेष्ठ, राधिका कार्की, सुस्मिता खड्का, मेनुका खरेल, निरु धिताल, समिता बस्नेत, स्मिता पोखरेल र रुचि शाह छन् ।

सङ्घको सुनसरी शाखा संस्थापक निवर्तमान अध्यक्ष तथा कोशी प्रदेश सभा सदस्य यशोदा कायस्थले सुनसरीका महिलाहरूलाई उद्यमशील बन्न सङ्घको स्थापनाले महत्त्वपूर्ण भूमिका खेलेको बताइन् ।

आफ्नो दुई कार्यकालमा सुनसरीका नगरपालिकाहरूमा उद्यमी महिलाहरूलाई सङ्गठित गर्न सङ्घ सफल भएको बताउँदै यसमा कार्यसमितिका सबैको योगदान रहेको उल्लेख गरिन् ।

उक्त अवसरमा उत्कृष्ट महिला उद्यमी धरान स्थित चौबिसे संयोक ढाका उद्योगकी यमुना जुम्सा संयोक र रामधुनी-५ झुम्काकी फर्निचर उद्यमी सिर्जना भट्टराईलाई सङ्घले सम्मानित गरेको थियो ।

प्रमुख अतिथि प्रदेश सभाकी उपसभामुख सिर्जना दनुवारले समग्र महिलाको शसक्तिकरण गर्न स्वरोजगार, आत्मनिर्भरताका लागि समावेशी अर्थतन्त्रको निर्माण आवश्यक रहेको बताइन् ।

सोही अवसरमा सङ्घको सुनसरी शाखाले स्थापनाकाल २०७३ यता गरेका गतिविधि सहित महिलाहरूका उद्यमशीलताका विषयका लेखहरूको सङ्कलन ‘उद्यमी महिला’ स्मारिकाको विमोचन गरियो ।

mahila-sammanudhami-mahila