धरान : धरानमा राजनैतिक तथा विभिन्न सामाजिक गतिविधिहरूमा सक्रिय रहँदै आएको नेपाली काँग्रेसको युवा भातृ सङ्गठन नेपाल तरुण दलको धरान उपमहानगर कमिटी हाल धरानको बाटोहरूमा भएको खाडलहरू खोज्ने र उक्त खाडललाई पुर्ने अभियानमा लागि परेको छ ।

धरानको बाटोहरूमा सर्वसाधारण र बाह्य पर्यटकको सवारी सुरक्षाको सुनिश्चितता र सहजतामा टेवा पुर्याउने मुख्य उद्देश्यले गत भाद्र ३० गतेबाट सुरु भएको उक्त अभियान अन्तर्गत पहिलो दिन धरानको धार्मिक एवम् पर्यटकीय स्थल धरान-१४ स्थित विजयपुर क्षेत्रका बाटाका खाडलहरू पुरिएको थियो भने दोस्रो दिन ३१ गते धरान १० र ११ स्थित नारायण चौक र धरान-३ स्थित चिनिया चौकका खाडलहरू पुरिएको थियो।

बाटोमा भएको विभिन्न खाडलहरू सवारी दुर्घटनाको मुख्य कारणहरू मध्येको एक भएको र यस विषयमा धरान तरुण दलको ध्यानाकर्षण भएको जनाउँदै धरान तरुण दलले आफ्नो अभियान अन्तर्गत धरान १४, १०, ११ र ३ नं वडा मात्र नभएर धरानका धेरै भन्दा धेरै स्थलहरूमा खाडल पुर्ने कार्य गर्ने अध्यक्ष राम कुमार तामाङले बताउँदै सम्पूर्ण धरानवासीहरूलाई पनि सहभागिताको लागि अपिल समेत गरे ।

धरान तरुण दलका सचिव मनोहर श्रेष्ठले धरान तरुण दलको हाल बाटोको खाडल पुर्ने अभियान समस्याको दिर्धकालिन समाधान नभए पनि यसले सर्वसाधारणलाई केही राहत भने पक्कै दिने कुरामा सङ्गठन विश्वस्त रहेको र बाटामा खाडलहरू पुर्ने क्रममा धेरै सर्वसाधारणले बाटो पिचको अपेक्षा गरेता पनि तरुण दल सँग पर्याप्त श्रोत नभएको कारणले केही नगरी बस्नु भन्दा उपलब्ध श्रोत मार्फत सकेको कार्य आफूहरूले गरेको बताए । 

त्यस्तै सङ्गठनका उपाध्यक्ष विक्रम तामाङले पनि बाटोको खाडल पुर्ने समस्याले सर्वसाधारणलाई केही राहत दिने भएता पनि बाटो जस्तो जनजीवनमा प्रत्यक्ष रूपमा प्रभाव पार्ने पूर्वाधारको मर्मतमा सम्बन्धित निकायले बेवास्ता नगरी बेलैमा आवश्यक कदम चाल्नुपर्ने, विगतका वर्षहरूबाट नै बाटो पूर्वाधारमा तिनै तहका सरकारको वार्षिक बजेटको सबै भन्दा ठुलो अंश खर्चिने भएकाले समयमा नै मर्मत गरिए पुनः निमार्ण गर्नुपर्ने समय लम्बिएर राष्ट्रिय श्रोत पनि जोहो हुने बताए ।

धरान तरुण दलले सुरुवात गरेको उक्त अभियानमा स्थानीयहरूको पनि उत्साह पूर्वक सहभागिता रहेको थियो भने उनीहरूले धरान तरुण दललाई धन्यवाद ज्ञापन समेत गरे ।

आफ्नो गाउँ ठाउँका बाटोहरू जीर्ण रहेर विभिन्न दुर्घटना हुने र सो समस्या समाधान गर्न पहल गर्न प्रक्रियाहरू बारे अनविज्ञ भएकाले बर्खा र रातको समयमा ज्यादा आतङ्कित भएर बस्न परेको एक स्थानीयले बताए ।

धरान तरुण दलले समय सापेक्ष र विभिन्न अवसरहरू पारेर रक्तदान, सरसफाइ, वृक्षारोपण, जल वितरण लगायतका सामाजिक क्रियाकलापहरू पनि गर्दै आएको छ ।

Tarun dal bato 3