इटहरी : सुनसरी प्रहरीको नियन्त्रणमा रहेका धर्मगुरु आचार्य श्रीनिवासलाई प्रहरीले जनकपुर पठाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले मङ्गलवार साँझ धर्मगुरु आचार्य श्रीनिवासलाई सुनसरीको वराहक्षेत्र नगरपालिकाको चकघट्टीमा रहेको उनकै आश्रमबाट नियन्त्रणमा लिएको थियो ।
आचार्य श्रीनिवासले केही दिन अगाडि जनकपुरमा बेधर्मीलाई खुकुरीले काट्नुपर्ने विवादास्पद अभिव्यक्ति दिएका थिए । धार्मिक तथा साम्प्रदायिक घृणा फैलाएको भन्दै जनकपुर प्रहरीको अनुरोधमा सुनसरी प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । 
ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरेर उनलाई उनकै आश्रमबाट नियन्त्रणमा लिएको आचार्यका एक शिष्यले जानकारी दिए । राति ११ बजे केही प्रहरी आएर आश्रमबाट गुरुका कपडा, तिलकपेटी अन्य सामग्रीहरू समेत लिएर गएको उनले जानकारी दिए । 
आचार्य श्रीनिवासलाई जनकपुर ल्याउँदै गरेको धनुषा प्रहरी प्रवक्ता रञ्जन अवाले पुष्टि गरे । जनकपुरबाटै जारी भएको पक्राउ पुर्जीको आधारमा उनलाई पक्राउ गरिएको अन्य विषयमा अनुसन्धान पछि मात्र थाहा हुने उनले बताए ।