धरान : नेपालको शिक्षाका गलत शिक्षा पद्धतिका कारण पढ्नकै लागि भनेर बिदेसिने प्रवृत्तिले पछिल्लो समय नयाँ पुस्तामा चाडपर्व परम्परागत संस्कृतिप्रति उदासीनता बढेको बुद्धिजीवीहरूले बताएका छन् ।
धनकुटा धरान एकता समाजको दशैं तिहार शुभकामना कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालय सिनेट सदस्य उपप्राडा.जीवनकुमार राईले भने ‘प्लस टु देखीका नयाँ पुस्तालाई कसरी हुन्छ विदेश जाने कुरा बाहेक चाडपर्व, संस्कृतिप्रति उदासीनता बढेको पाइन्छ ।’
सामाजिक सञ्जाल लगायत सञ्चारका प्रविधिमा सहज पहुँच व्यापक भएपछि परम्परागत सामाजिक, पारिवारिक जीवन विश्रृंखलित भएको उनले बताए । उनले भने ‘नयाँ पुस्ता सबै विदेश जान थालेपछि अभिभावकहरूले दशैंमा अनलाइन टिका लगाई दिनुपर्ने अवस्था आउन लागेको छ ।’
यो स्थिति नेपालको गलत शिक्षा पद्धतिको कारण सिर्जना भएको उनको भनाई छ । गलत शिक्षा पद्धति र योग्यताका आधारमा अवसर नपाउने कारण मुलुकमा शिक्षित बेरोजगारी बढेको बताउँदै यस्तो अवस्थामा बिदेसिनु बाहेक कुनै विकल्प नदेखिनु अस्वाभाविक नभएको उनको भनाई थियो ।
प्राध्यापक डा.गोपाल भण्डारीले दशैं लगायतका चाडपर्वको धार्मिक, सामाजिक, सांस्कृतिक महत्त्व रहेकाले नयाँ पुस्तामा परम्पराको पुस्तान्तरण जरुरी रहेको बताए । उनले चाडपर्व धर्ममा आधारित रहने बताउँदै धर्मले सुसंस्कृत समाजको निर्माण गर्ने कुरालाई बिर्सन नहुने स्पष्ट गरे ।
दशैं, तिहार नेपालीको मौलिक पर्वले सामाजिक सद्भाव बढाउन ठुलो भूमिका खेल्दै आएका र यसले, आर्थिक गतिविधिमा पनि महत्त्वपूर्ण योगदान गर्दै आएको उनको भनाई थियो ।
समाजका अध्यक्ष गङ्गाप्रसाद रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा सारा फाउण्डेशनका अध्यक्ष वीरेन्द्र थापा, बिपी अनुसन्धान केन्द्रका विश्वराज शर्मा, वरिष्ठ पत्रकार हर्ष सुब्बा, अग्रज कृष्णप्रसाद सुवेदी, पूर्व प्रधानाध्यापक बासुदेव भण्डारी, राजेशमान श्रेष्ठ सहित सहभागी सबैले शुभकामना प्रकट गरेका थिए । कोषाध्यक्ष गौरी याख्खाले स्वागत भाषण गरेको कार्यक्रम सञ्चालन उपाध्यक्ष जयप्रसाद निरौलाले गरेका थिए ।

        
                    
        
                                        
                                                                                                
        
                
                
                
        
        
















        
        
















































