धरान : दशैं सहित चाडपर्व लक्षित गर्दै धरानको सुरक्षा व्यवस्थाका लागि इलाका प्रहरी कार्यालय धरानले ३० जना थप जनशक्ति क्विक रेक्सपोन्स टिम क्युआरटी परिचालन गरेको छ ।

दशैंमा २४सै घण्टा धरानको सुरक्षा संवेदनशीलता मध्यनजर गर्दै प्रदेश प्रहरी कार्यालयबाट धरानमा  सुरक्षालागि आजैबाट थप प्रहरी परिचालन भएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नवराज मल्लले बताए ।

सञ्चारकर्मीसँग चाडपर्व लक्षित शान्ति सुरक्षा प्रतिबद्धता सहितको शुभकामना आदान प्रदान कार्यक्रममा डिएसपी मल्लले धरानलाई सुरक्षित राख्न धरानको छाताचोक, धरान-१६ स्थित जोरसखुवा, रेल्वे, अमरहाट लगायतका ४ स्थानमा मोबाइल सुरक्षा टोली नियमित रूपमा खटिएको बताए ।

उनले धरानको आर्थिक गतिविधि क्षेत्र बैङ्क तथा वित्तीय संस्था, सुनचाँदी पसल लगायतका क्षेत्रमा प्रहरी जनशक्ति परिचालन गरिएको बताउँदै रातको समयमा होटेल तथा रेस्टुरेन्ट सञ्चालन गर्न १० बजे सम्मको समय दिएको बताए ।

डिएसपी मल्लले भने ‘जिल्ला प्रहरी कार्यालयको आधिकारिक धारणा त्यही हो, तर एमएचको हकमा १ बजे सम्म रहेको छ ।’ जिल्ला सुरक्षा समन्वय समितिको निर्णय अनुसार १० बजेभन्दा पछाडि बजार, पसल बन्द गर्न प्रहरीले आग्रह गर्दै आएको कुरा समितिको निर्णय कार्यान्वयनका रूपमा लिन आग्रह गरे ।

डिएसपी मल्लले भने ‘धरानमा सुरक्षा संवेदनशीलता जति छ, धरानको आर्थिक संवेदनशीलता उत्ति नै छ, प्रहरी त्यसमा बाधक हुँदैन ।’ मान्छेको व्यक्तिगत जीवन पनि हुने भएकोले सही सूचनाको आधारमा मात्र मानिस पक्राउ गरिने उनले बताए । व्यक्तिगत जीवनको गोपनीयता राख्न लागि पनि प्रहरी उत्तिकै संवेदनशील रहेकोले जहाँ पायौ त्यही धरपकड गर्ने गरिने कार्यप्रति इलाका प्रहरी कार्यालय गम्भीर  रहेको डिएसपी मल्लको भनाई छ ।

सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न न्यायिक दायरा फराकिलो भएको बताउँदै उनले भने ‘सर्वोच्च अदालतले निर्णय अनुसार पुरानबेदन अदालतले जिल्ला प्रहरी कार्यालयलाई अधिकार प्रत्यायोजन गरेका छ ।’

सोही आधारमा इलाका प्रहरी कार्यालयले समेत साइबर क्राईमको मुद्दा ,बैङ्किङ कसुर, ठगी र विद्युतीय कारोबारको कसुरलाई पनि हेर्दै आएको डिएसपी मल्लले बताए । उनले भने ‘तर दक्ष जनशक्ति स्रोत साधनको अभावले गर्दा कार्यान्वयन गर्न समस्या र जटिलता उत्पन्न भएको छ ।’ तर पनि समस्या झेल्दै पनि सबै काम गर्दै आएको उनको भनाई छ ।

लागुऔषध कारोबारको प्रकृति अहिले दुई वर्गीकरणमा राखिएको उनले बताए । प्रतिबन्धित औषध र नियन्त्रित औषधमा वर्गीकरण गरिएको हो । लागुऔषधको मुद्दामा प्रहरीले प्रतिबन्धित लागुऔषध कारोबारमा संलग्न व्यक्तिलाई तुरुन्त मुद्दा चल्ने र नियन्त्रित लागूऔषध कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरेर कुन प्रकारको कारोबार हो सो प्रकारको मुद्दामा जाने डिएसपी मल्लले बताए ।

police-news-dharan