धनकुटा : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा सरकारी विशिष्ट व्यक्तिको लावालस्करले आतङ्क मच्चाएको बताएका छन् ।
प्रेस चौतारी धनकुटाले आज जिल्ला सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष पोखरेलले राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूको लावालस्करले पर्यटन आतङ्क खडा गरेको बताएका हुन् । राहत लिएर जाने भन्दा पनि रमिता हेर्न जाने क्रम बढी भएकाले भूकम्प पीडितलाई थप समस्या बनाएको नेता पोखरेलको भनाई छ ।
विशिष्ट व्यक्तिको हेलिकप्टरको हावाले भूकम्प पीडितको टेन्ट उडाएको उदाहरण दिँदै नेता पोखरेलले अहिले रमिता हेर्न जानेको भन्दा राहत लिएर जानेको खाँचो रहेको बताए । ‘भूकम्प प्रभावित क्षेत्रमा सरकारका विशिष्ट व्यक्तिहरूको लावालस्करले पर्यटन आतङ्क खडा गरेको छ,’ नेता पोखरेलले भने, ‘भूकम्प पीडितलाई अहिले रमिता हेर्ने मान्छे हैन, राहत लिएर जाने मान्छे चाहिएको छ, त्यो हामीले विचार गर्नुपर्छ ।’
भूकम्प पीडितलाई राहत र उपचारका क्रममा पनि राजनीतिक पूर्वाग्रह राखिएको गुनासो आएको भन्दै नेता पोखरेलले सरकारले सबैलाई समान व्यवहार गर्नुपर्ने धारणा राखे । भूकम्प पीडितको सवालमा एमाले गम्भीर रहेको भन्दै नेता पोखरेलले एमालेले केही दिनभित्र एक हजार स्वयंसेवक सो क्षेत्रमा खटाएर प्रभावितहरूलाई पुनर्स्थापित गर्न सहयोग गर्ने जानकारी दिए ।
प्रेस चौतारी धनकुटाका अध्यक्ष रविन कटेलको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य राजेन्द्र राई, प्रदेश उपाध्यक्ष टिकाराम चेम्जोङ, जिल्ला अध्यक्ष इन्द्रमणि पराजुली लगायत पनि सहभागी थिए ।
नेकपा एमाले धनकुटाको ७ औँ जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकका लागि नेता पोखरेल धनकुटा आएका हुन् । उनी आजै काठमाडौँ फर्किएका छन् ।


































































