धरान : कानुनी र सैद्धान्तिक रूपमा लैङ्गिक हिंसा अन्त्य भएको घोषणा भए पनि समाजमा घट्ने हिंसा न्यूनीकरण तथा कानुनी दायरामा ल्याउन सरोकारवाला महिला सङ्घ, संस्थाहरूलाई प्रहरीसँग हातेमालो गरेर अघि बढ्न आग्रह गरिएको छ ।

अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान सुरु भएको अवसरमा धरानमा शनिवार आयोजित 'लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानी ऐक्यबद्धता' विषयक कार्यक्रममा प्रहरीले महिला सञ्जाललाई त्यस्तो आग्रह गरेको हो ।

इलाका प्रहरी धरानका डिएसपी नवराज मल्लले लैङ्गिक हिंसा न्यूनीकरण र नियन्त्रणकालागि इलाका प्रहरी कार्यालय धरान सदैव साथमा रहेको बताउँदै महिलाहरूप्रति हुने लैङ्गिक हिंसा त्युनिकरण गर्न तथा कानुनको दायरामा ल्याउन सधैँ हातेमालो गरी अगाडी बढ्ने बताउँदै लैङ्गिक हिंसा मुक्त धरान बनाउन सरोकारवाला सङ्घ, संस्थासँग प्रहरीसँग हातेमालो गरेर अघि बढ्न आग्रह गरे ।

उनले जोखिममा परेका महिला बालबालिका वृद्धवृद्दाको सुरक्षार्थ डटेर लागि पर्दै सेवा प्रदान गर्दै धरानलाई हिंसामुक्त सहर बनाउन प्रहरीले अग्रणी भूमिका खेल्ने प्रतिबद्धता प्रकट गरे ।

नोभेम्बर २५ का दिनलाई संयुक्त राष्ट्र सङ्घ महासभाले विश्वभर महिला हिंसा निर्मूल पार्न अन्तर्राष्ट्रिय दिवस मनाउने निर्णय गरेको हो । उक्त अवसरमा महिला सञ्जाल धरानको आयोजनामा घण्टाघर परिसरबाट शान्तिको प्रतीक रिबन लगाएर लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको सुरुवात गरेको छ ।

महिला सञ्जाल धरानकी अध्यक्ष सपना राईले महिला हिंसा विरुद्धको अभियान निरन्तर १६ दिन सम्म सञ्चालन गर्दै महिलाहरूसँग अन्तरक्रिया कार्यक्रमका साथ मनाउँदै मङ्सिर २४ गते समापन गरिने बताइन् ।

सञ्जालकी संस्थापक अध्यक्ष गङ्गा बरालले समाज रूपान्तरणमा सामाजिक सञ्जाल प्रयोगकर्ता महिला दिदीबहिनीलाई सचेतना कार्यक्रम आवश्यक रहेको बताउँदै भनिन् ‘एक दुई जना महिलाले गर्दा समाज भड्किलो हुँदै गएकोले सबै दिदीबहिनीलाई अप्ठ्यारो बनाएको छ ।’

कार्यक्रममा पूर्व अध्यक्षद्वय मिना पुलामी मगर, सबिता राईको पनि उपस्थिति थियो । सञ्चालन सञ्जाल सचिव ईन्द्रकला राईले गरेकी थिइन् ।