• रश्मि प्रधान

धरान : महिला सञ्जाल धरानको पदस्थापन कार्यक्रममा आउँछु भनी बचन दिएर पनि नआएपछि धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङको आलोचना गरिएको छ। सञ्जालको छैटौँ पदस्थापन समारोहलाई मेयर सम्पाङले उपेक्षा गरेको भन्दै उनको आलोचना गरिएको हो । समारोहमा उपमेयर आइन्द्रविक्रम बेघा भने उपस्थित थिए ।

सञ्जालकी अध्यक्ष चेतना श्रेङले कार्यक्रममा आउँछु भनेर बचन दिए पनि मेयर हर्क साम्पाङ अनुपस्थित रहनु महिला सञ्जाललाई उपेक्षा गरेका हुन भनी आलोचना गरिन् । उनले सञ्जाललाई उपेक्षा गर्नु भनेको हिंसामा परेका, आर्थिक अवस्था शून्य भएको महिलाहरूको हक, हितको उपेक्षा गरिएको मानिने उनले बताइन् ।

उनले भनिन् ‘हिंसामा परेका, आर्थिक अवस्था शून्य भएका महिलाहरूको रक्षा गर्दै महिला नेतृत्व विकास गर्न क्रियाशील महिलाहरूको संस्था सञ्जाललाई धरान उपमहानगरपालिका मेयर हर्कराज राईले उपेक्षा गर्दै कार्यक्रममा आउँछु भन्ने वचनबद्धता दिएर पनि आउनु भएन ।’  

अध्यक्ष श्रेङले पूर्व मेयर तिलक राई र वडा १३ का अध्यक्ष नेत्र काफ्ले महिलामैत्री भएको, महिलाको सुख दुःख बुझेर घर बनाउन जग्गा प्रदान गरी भवन बनाउन बजेट दिएकोमा सञ्जालको लागि धन्यवादको पत्र रहेको बताइन् । आउँदा दिनमा सञ्जाललाई स्थानिय सरकारको सहयोग र बजेटको ठुलो अपेक्षा गरेको छ तर, मेयर हर्क साम्पाङले कार्यक्रममा आउने वचन दिएर पनि अनुपस्थित रहेकाले दु:खीत बनाएको बताइन् ।

सहभागी दलहरूको तर्फबाट बोल्दै नेपाली काँग्रेसका नगर सभापति श्याम पोख्रेलले मेयरले महिला हक, अधिकारका लागि सक्रिय संस्थासँग मेयरले धोकेबाजी गर्नु नहुने बताउँदै  भने ‘महिलाका कार्यक्रमहरू लाई उपमहानगरपालिकाले आर्थिक सङ्कटमा पार्नु हुँदैन ।’ प्रमुख अतिथि सांसद महिलाको समस्या बुझ्न र सहकार्य गर्न सहभागी भएकोमा धन्यवादको पात्र बनेको बताए । उनले सञ्जालको भवन निर्माणको लागि काँग्रेसले १५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरे ।

सुनसरी उद्योग वाणिज्य सङ्घको सभाकक्षमा सोमवार भएको पदस्थापन,  स्मारिका विमोचन र सम्मान कार्यक्रममा महिला सञ्जालकी निवर्तमान अध्यक्ष सविता राई, पूर्व अध्यक्ष शिला बज्राचार्य, सल्लाहकारहरू विष्णु बराल, मोहन श्रेष्ठ, सुनिल नेपाललाई सञ्जालले सम्मान गरेको थियो । पदस्थापनमा सञ्जालकी नव निर्वाचित अध्यक्ष सपना राईको नेतृत्वमा नव निर्वाचित १९ सदस्यि कार्यसमितिलाई पद बहाली गराइएको थियो ।

 प्रमुख अतिथि प्रदेश सभा सदस्य समानुपातिक सांसद सपना परियार थिइन् । उनले राष्ट्रिय स्तरमा महिला महिला बिच प्रतिस्पर्धा हुन जरुरी रहेको बताउँदै सीमित कोटा र निराशा, कुण्ठामा नरही महिला प्रतिस्पर्धामा लागियो भने मात्र आर्थिक निर्भरता, सामाजिक र राजनैतिक क्षेत्रमा अघि बढ्न सकिनेमा जोड दिइन् । 

विशेष अतिथि धरान उपमहानगरपालिका उपमेयर आइन्द्रविक्रम बेघाले धरान इतिहास बोकेको आधुनिक सहर भएकाले सभ्य र संस्कृत सहर निर्माण गर्नका लागि लामो छलफल बहस गरेर महिला सञ्जाल सहित सबै पक्षसँग सहकार्य र सहयात्रा गर्न तयार रहेको बताए । उनले भने ‘यथेष्ट चित्त बुझ्दो कार्य गर्न नसकेता पनि महिलाहरूको क्षमता अभिवृद्धि र विकासको मुद्दामा एक भएर हामी लागि पर्छौ ।’

सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले जुन घरमा उद्योगी महिला छन् त्यस घरका परिवार नै उद्योगी हुने र परिवार उद्योगी भए मात्र देश समृद्धि हुने भन्दै राज्यले कालो बजारी नियन्त्रण नगरे उद्योगी व्यवसायी अगाडी बढ्न नसक्ने बताए । जनप्रतिनिधि विहीन भएको अवस्थामा २०६६ सालमा स्थापना भएको सञ्जालमा हाल ४६ सङ्घ संस्थाहरू आबद्ध रहेका छन् ।

सञ्जालकी वरिष्ठ उपाध्यक्ष तथा प्रदेश सांसद माननीय यशोदा कायस्थलाई सांसद भएकोमा सम्मान गर्दै  महिला सञ्जालबाट बिदाइ गरिएको थियो  ।

sapana-pariyar-mahila