धरान : कहीँ आफूलाई पर्यटन मन्त्रालयको शाखा अधिकृत, कहीँ बिपीको डाक्टर हुँ भन्दै कार चढेर आउने रक्सी चोर्दै हिँड्ने विकाश साह नामका व्यक्ती मदिरा व्यवसायीको फन्दामा परेपछि अहिले इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा छन् ।

निकै दिनयता धरान बजारका मदिरा दोकानहरूमा 'मोबाइल पे गर्छु' भन्दै रक्सी लिएर टाप कस्ने विकास साह मङ्गलवार भानुचोकमा पक्राउ परेका हुन । धरानका दर्जनौँ मदिरा दोकानमा मालिक नभएको मौका छोपी रक्सी किन्ने बहानामा रक्सी चोरी गर्दै हिँडेका थिए ।

मदिरा व्यवसायी सङ्घले जनाए अनुसार ४ दिन अघि साहले बिपी प्रतिष्ठान स्थित निर्भाना कन्ट्री क्लबबाट ब्याक लेबल लिएर हिँडेका थिए । सोमबार धरान-७ भानुचौकको मनकामना कोल्ड ड्रिङ्कमा ब्ल्याक चिम्नी, ओल्ड दरबार मागेर मोबाइल पे गर्दिन्छु भन्दै हिँडेका थिए ।

धरान-१५ श्याम चोक स्थित एक दोकानमा रक्सी मागेर पैसा मोबाइल पे गर्छु भनेर मागेका थिए । दोकानेले पैसा मोबाइलमा नआइन्जेल हुँदैन भनेपछि साह हिँडेको थिए । उनलाई मदिरा व्यवसायी सङ्घले शङ्कास्पद व्यक्तिको रूपमा खोजी कार्य तीव्र बनाएको थियो ।

साह जुनसुकै दोकान आएर त्यसो रक्सी मागे सम्पर्क गर्ने सूचना अनुसार भानुचोक स्थित बाबा कोल्ड ड्रीङ्क्स चोरेको रक्सी बेच्न सोमबार आएका थिए । तर दोकानमा रहेका कर्मचारीहरूले साहु नभएको बताउँदै भोलि आउनुस् भनेपछि साह आज मङ्गलवार आएको मौका छोपेर पक्राउ गरी प्रहरीको जिम्मा लगाएको बाबा कोल्ड ड्रीङ्क्सका प्रोप्राइटर श्रवण गुप्ताले बताए ।

साहले दोकानमा आएर सिग्नेचर ह्विस्की कतिमा लिनु हुन्छ ? भन्दै मोलमोलाइ गरेका थिए । अघिल्लो दिन नै शङ्कास्पद लागेपछि मदिरा व्यवसायी सङ्घमा सूचना गरेकोले सङ्घको फन्दामा परेको उनका भनाई छ ।

साहले आफूलाई संस्कृति पर्यटन मन्त्रालय सानेपा काठमाण्डौमा शाखा अधिकृत भएको बताउने गरेका छन् । उनले कतै बिपीको डाक्टर भन्ने पनि गरेको मनकामना कोल्ड ड्रीङ्क्स सेन्टरका प्रोप्राइटर रमेश हतुवाली बताउँछन् ।

साह दोकानमा आउँदा बा ७ च ४४८० कार चढेर आउने गरेका थिए । उनी संस्कृति पर्यटन मन्त्रालय काठमाण्डौको शाखा अधिकृतको परिचय कार्ड बोकेर हिँड्ने गरेका छन् । मदिरा व्यवसायीले पक्राउ गर्दा उनले आफू डाक्टर भएकोले कुरा बुझ्न आग्रह गर्दै पुलिस नबोलाउन आग्रह पनि गरेका थिए । साह अहिले इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा छन् ।