उदयपुर : कृषकहरूद्वारा बढ्दो रासायनिक मलको प्रयोगले जमिनको उर्वराशक्ति ह्रास हुँदै गएको चिन्ता जनाउँदै उदयपुरमा मङ्गलवार विश्व माटो दिवस मनाइएको छ ।

‘माटो र पानी जीवनको थालनी’ नाराका साथ कृषकहरूका रयाली प्रदर्शन पछि भएको कार्यक्रममा त्रियुगा नगर प्रमुख वसन्त बस्नेतले रासायनिक मलको प्रयोगले माटोको भौतिक, रासायनिक तथा जैविक गुण बिग्रन गई उर्वराशक्तिमा ह्रास आउने क्रम दिन प्रतिदिन बढ्दै गएका बताए ।

उनले भने ‘कृषकहरूका लागि नकारात्मक असर पर्ने कुरमा सबै सरोकारवाला कृषकमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले नगरपालिकाले विश्व माटो दिवस मनाउन सुरु गरेको हो ।’

नगरपालिकाको कृषि विकास शाखाद्वारा आयोजित कार्यक्रममा व्यवसायीक कृषि गर्दै आएका कृषकहरूले प्ले कार्ड बोकेर रयाली प्रदर्शन गरेका थिए । उनले माटो, किसान र कृषिसँग सम्बन्धित रहेकोले यसको स्वच्छतातर्फ ध्यान दिन आग्रह गरे ।

नगरपालिकाले यसअघि व्यवसायीक १ सय कृषकको खेतीमा पुगेर माटो परीक्षण गरेको थियो । माटो दिवसको अवसरमा उनीहरूलाई माटो सम्बन्धी जानकारी सहितको पत्र ‘सोयल हेल्थ कार्ड’ वितरण गरिएको छ । कार्यक्रम त्रियुगा नगरपालिकाको सभाहलमा भएको थियो ।