विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विदेशमा महँगो मूल्यमा श्रम बेचेर नेपालमा रेमिटेन्स पठाउने श्रमिकहरूलाई अवहेलना गर्नु आपत्तिजनक भएको बताएका छन् ।
उनले भने, ‘विदेशमा महँगो मूल्यमा श्रम बेच्ने श्रमिकमाथि अौँलो उठाउने र अवहेलना गर्ने काम भइरहेको प्रति आपत्तिजनक छ ।’ हुनेखाने वर्गका छोराछोरी अस्ट्रेलिया, क्यानडा गायतका देशमा महँगो मूल्यमा श्रम बेच्दा सम्मान गरिने बताउँदै प्रश्न गरे, ‘खाँडी मुलुकमा श्रम बेच्नेलाई विमानस्थलमा लाम लागेको तस्बिर देखाएर अपमान गर्न मिल्छ ?’
बिर्तामोडको अग्रसेन भवनमा बिहीबार आयोजी श्याम बाबा मन्दिर प्राण प्रतिष्ठामा आएका भारतको खाटु श्याम बाबाबाट अखण्ड ज्योति ल्याउने समूहको बिदाइमा उनले उक्त कुरा बताएका हुन् ।
मुख्याउनले भने, ‘मुलुकको आर्थिक श्रोत बनेका श्रमिकहरूलाई यस्तो अपमानित व्यवहार गर्ने सोचमा सबैले परिवर्तन ल्याउनु आवश्यक छ ।’ जहाँ श्रमको मूल्य बढी हुन्छ त्यहाँ रोजगारीमा जाने पुरानो चलन रहेको सबैले बुझ्नु पर्ने उनको भनाई थियो ।
नेताहरूले भोटको राजनीतिमा लागेर श्रमिकलाई अपमान गर्ने भाषण तत्काल बन्द गर्नुपर्ने बताउँदै मुख्यमन्त्री कार्कीले भने, ‘भोटको राजनीतिमा लागेर युवा जनशक्ति पलायन भएको नारा दिन राजनीतिक नेतृत्व लगायतका नेताहरूले बन्द गर्नुपर्छ ।’
नेताहरू श्रमिकको नै टिकटमा विदेश जाने, बस्ने, भाषण गर्ने, भ्याएसम्म मार्केटिङ पनि गर्ने र चन्दा पनि उठाएर ल्याउनेले नै फेरी श्रमिकलाई नै अपमान हुनेगरी भोटका लागि नारा दिने कार्य तत्काल बन्द गर्नुपर्ने उनको भनाई थियो ।
मुख्यमन्त्रीले भने, ‘जसले जहाँ बढी मूल्य पाउँछ त्यहाँ गएर श्रम बेच्ने उहाँहरूको अधिकार भएको सबैले बुझ्नु आवश्यक छ ।’ युवा जनशक्ति पलायन भयो, उत्पादनमा ह्रास भयो भन्नेहरूले धान उत्पादन बढेको नहेर्ने नेताहरूबाट सामाजिक परिवर्तन नहुने सबैले बुझ्नु आवश्यक रहेको मुख्यमन्त्री कार्कीले उल्लेख गरे ।

 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        
















 
         
        

















































 
         
         
        