वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले शुक्रवार १३ औँ नगर सभा सम्पन्न गरेको छ । नगर सभा मार्फत शिक्षा, स्वास्थ्य, पूर्वाधारसँगै धार्मिक पर्यटन विकासमा जोड दिँदै बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

नगर सभामा उपप्रमुख नन्दुकुमारी सुनुवारले आर्थिक वर्ष २०८०/०८१ को संशोधित बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।  वराहक्षेत्र नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा विनियोजित रकमको ३१ दशमलव २९ प्रतिशत मात्र खर्च भएको छ। सभामा उपप्रमुख नन्दकुमारी सुनुवारले ०८० पौष २३ गते सम्मको खर्चको स्थिति सार्वजनिक गरेकी थिइन् ।

आर्थिक विकासतर्फ विनियोजित रकम ४ करोड २३ लाख ९ हजार रुपैयाँ मध्ये १३.४५ प्रतिशत खर्च भएको छ। सामाजिक विकासतर्फ विनियोजित ४९ करोड ८३ लाख ५२ हजार ६ सय रुपैयाँ मध्ये ३७.६८ प्रतिशत, पूर्वाधार विकासतर्फ विनियोजित २३ करोड २१ लाख ३५ हजार ६ सय ४२ रुपैयाँ मध्ये ९.४४ प्रतिशत, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा विनियोजित २ करोड ५० लाख ३० हजार रुपैयाँ मध्ये २२.७२ प्रतिशत र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा विनियोजित १८ करोड ३७ लाख ७२ हजार विनियोजित रकममध्ये ४६.८१ प्रतिशत खर्च गरेको छ ।

चालु आवमा नगरले ९९ करोड ७ लाख ४२ हजार २ सय ९२ रुपैयाँ रकम विनियोजन गरेको थियो । ०८० पुस २३ सम्म आयतर्फको यथार्थ विवरण ४४ करोड २८ लाख ५२ हजार ८ सय ३१ रुपैयाँ ४७ पैसा रहेको विवरण सार्वजनिक गरेको छ ।

नगर सभामा चालु भैपरी शीर्षक अन्तर्गत ४२ लाख रुपैयाँ बजेट रकमान्तर गरिएको विवरण प्रस्तुत गरिएको छ । रकमान्तर भएका शीर्षकमा विविध खर्चतर्फ १५ लाख रुपैयाँ, इन्धनतर्फ १५ लाख रुपैयाँ, कार्यक्रम खर्चतर्फ ७ लाख रुपैयाँ थप गरिएको छ।

सभामा पूरक बजेट वक्तव्य पेस गर्दै उपप्रमुख सुनुवारले नगर विकासमा देखिएका समस्या, चुनौती र अवसर प्रस्तुत गरेकी थिइन् । सभामा नगर प्रमुख रमेश कार्की प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । 'समृद्ध वराहक्षेत्रको आधार, कृषि, पर्यटन र पूर्वाधार' भन्ने नारालाई सफल पार्न काम गरिरहेको बताए।

पर्यटन विकाशको लागि रामधुनी, चतरा, वराहक्षेत्र, सुर्यकुण्ड र धरान मिलाएर धार्मिक पर्यटकीय सर्किट निर्माण, वराहक्षेत्र मन्दिरको प्रवर्द्धन, सुर्यकुण्डको प्रवर्द्धन, औलिया मठको संरक्षण प्रवर्द्धन, कुम्भ मेला स्थल चतरा धामको विकासका लागि गर्ने काम अगाडि बढेको । 

वराहक्षेत्रको दुर्गम मानिएको सुर्यकुण्ड चियाबारी क्षेत्रमा सडक सञ्जालका विकाशमा जोड, चावचामा खानेपानी, सिलपाखामा बाटो पुर्याउने काम अगाडि बढाएको, कोसी कटानमा राहत र उद्धारमा स्थानीय सरकारको प्रत्याभूति हुने काम गरेको, जङ्गली हात्ती नियन्त्रणमा नगरपालिकाले काम गरेको, सुत्केरी महिलालाई एम्बुलेन्स खर्च, ज्येष्ठ नागरिकहरूको घर घरमा गई स्वास्थ्य उपचार र प्रसूति बिदामा सट्टा शिक्षक भर्ना लगायतका कामहरू कार्यान्वयनको चरणमा रहेको नगर प्रमुख कार्कीले प्रतिवेदन मार्फत प्रस्तुत गरेका थिए ।

चतरा अस्पताल, नगर अस्पताल, मधुवन प्राथमिक स्वास्थ्य चौकीबाट दिइने सेवालाई बिस्तार तथा व्यवस्थापन, वडा नं.७ मा जग्गाको निस्सा वितरण गरी नापजाँच गर्न कार्य सम्पन्न भएको, वडा नं. १० मा पनि भूमि सम्बन्धी समस्या समाधानका लागि प्रारम्भिक चरणको घरधुरी सर्वेक्षण गरी उक्त प्रतिवेदनलाई नेपाल सरकार, प्रदेश सरकार र राष्ट्रिय भूमि आयोग समक्ष पेस गरिएको र भूमि सम्बन्धी समस्यालाई समाधान गर्न सुकुम्वासी समस्यालाई उच्च प्राथमिकता राखी समाधान गर्न पहल भइरहेको  कार्कीले सभामा जानकारी दिएका थिए ।

सभामा स्थानीय कवि, कलाकार र खेलाडीलाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेहरूमा कवितर्फ प्रकाश दिप्साली राई र छविना लुङ्गेली मगर, कलाकारतर्फ बाल गायक राजेश परियार र खेलाडीतर्फ सितेरियो कराँतेकी राष्ट्रिय खेलाडी आयुषा प्रधानलाई रहेका छन् ।

उनीहरूलाई नगद ५ हजार सहित नगर प्रमुख रमेश कार्की, उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र मल्लले दोसल्ला सहित सम्मान पत्र हस्तान्तरण गरेका थिए ।