विराटनगर : नेपाल-भारत सिमाक्षेत्रमा हुने मानव बेचबिखन, लागुऔषधको ओसार पसार जस्ता समाजमा विर्कती विंगती बढाउने कार्यको न्यूनीकरणका लागि गैर सरकार संस्थाहरू केन्द्रित हुनुपर्ने कुरामा सरोकारवाला निकायले जोड दिएका छन् ।

गैरसरकारी संस्था गैसस महासङ्घ मोरङको १९ औँ साधारणसभा, नागरिक सम्मेलनमा गैससले अहिलेसम्म गर्दै आएको भूमिकालाई उच्च मूल्याङ्कन गर्दै नयाँ भूमिकाप्रति ध्यानाकर्षण गराइएको हो ।

विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले भने, ‘सीमा क्षेत्रमा अझै पनि प्रलोभनमा पारेर मानव बेचबिखन भइरहेको पाइन्छ, अहिले सबैभन्दा ठुलो समस्या लागूऔषधको ओसारपसार र सेवन रहेको छ, त्यसको न्यूनीकरणमा गैसस केन्द्रित हुनुपर्‍यो ।’

उनले सिमाक्षेत्रबाट हुने मानव बेचबिखन विरुद्धको अभियानमा गैससले राम्रो काम गरेको चर्चा गर्दै उक्त कुरा बताएका हुन् । तथापि अझैपनि गैससको भूमिका आवश्यक भएको बताउँदै मेयर कोइरालाले भने, ‘महानगरपालिकाले गर्नुपर्ने थुप्रै कामहरू गैससहरूले गरिरहेका छन् ।’

उनले विराटनगरलाई महिला हिंसामुक्त बनाउन, बालश्रममुक्त बनाउन, लैङ्गिक विभेदको अन्त्य गर्न, छुवाछुत, कुसंस्कार र कुरीतिविरुद्ध लड्न महानगर र गैसस बिच सहकार्य जरुरी भएको बताए ।

साधारण सभाको अवसरमा पूर्वाञ्चल बालसेवा आश्रम, अम्बे-मुरारी सेवा केन्द्र, मानवअधिकारका लागि एकल महिला समूह मोरङ, नारी विकास सङ्घ इटहरी र युवा विकास संस्थालाई सम्मान गरियो ।

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, गैससका केन्द्रीय अध्यक्ष राम सुवेदी, जिल्ला समन्वय समिति मोरङकी उपप्रमुख उषा झा, गैसस महासङ्घका उपमहासचिव उमेश विश्वकर्मा, प्रदेश अध्यक्ष लखनलाल साह, राष्ट्रिय मानवअधिकार आयोग कोशी प्रदेश प्रमुख पवन भट्ट लगायतले शुभकामना दिएका थिए ।