धरान : जिल्ला प्रहरी सुनसरीले आइतबार ट्राफिक प्रहरीले बरामद गरेको १ करोड ८२ लाख ५१ हजार रुपैयाँ गणना हुने नक्कली नेपाली नोट सहित २२ वर्षीय महम्मद शैयाद साफीलाई सार्वजनिक गरेको छ ।

इनरुवा नगरपालिका-४ स्थित सुनसरी खोलाको पुलनजिकबाट नक्कली नोट सहित शैयादलाई पक्राउ गरेको हो । ट्राफिक प्रहरीले चेकजाँच गर्ने क्रममा  बीआर ११ एक्स ३४२९ नम्बरको भारतीय स्कोरपियोमा ल्याएको नक्कली नोटहरू बरामद भएको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले बताए । 

सोधपुछका क्रममा स्कोरपियोका चालकले प्रहरीलाई उक्त पैसा राखिएको ब्यागमा कपडा रहेको बताएको थियो । शङ्कास्पद लागेपछि खोजतलास गर्दा एक हजार दरका १८ हजार २५१ थान नक्कली नोट फेला परेको हो । गाडी भारतबाटै आएको देखिएको छ । चालक शैयाद पक्राउ परेपनि गाडीमा सवार अर्का व्यक्ति भने फरार छन् ।

लामो समयदेखि नक्कली नोट सञ्चय गरेर राखेको देखिएको छ ।  एसपी रेग्मीले भने, ‘बरामद भएका नोटमा नेपालका तीनजना पुराना गभर्नरको हस्ताक्षर छ, अनुसन्धान गरिरहेका छौँ ।’

nakkali note 2पछिल्लो समयमा कोशी प्रदेशमा नक्कली नोट बरामद र कारोबारी पक्राउ पर्ने दर बढेको छ । अब पनि सक्रियता नदेखाउने हो भने यसले अर्थतन्त्रमै असर पार्ने एसपी रेग्मीले बताए । उनले भने, ‘यससम्बन्धी अपराध नियन्त्रणमा प्रहरी सक्रिय छ, नागरिकहरू पनि सचेत हुनु जरुरी छ ।’

नक्कली नोट कारोबार गरेको पुष्टि भए मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ अन्तर्गत मुद्रा सम्बन्धी कसुरमा १० वर्षसम्म कैद र पचास हजार रुपैयाँ देखी एक लाख रुपैयाँ सम्म जरिवाना हुने व्यवस्था रहेको एसपी रेग्मीले जानकारी दिए ।

nakkali note 3