धरान : धनकुटाबाट आउँदै गरेको २ वटा भारतीय नम्बरको बलेरो गाडी धरान-१३ अमरहाटमा रोकेर चेकजाँच गर्दा दुई गाडिबाट १४९ केजी नियन्त्रित लागुऔषध गाँजा सहित १४ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार गाँजा र भारतीय नागरिकहरूलाई अस्थायी प्रहरी पोस्ट अमरहाट धरान-१३ को प्रहरी टोलीले पक्राउ गरेको हो ।

धनकुटाबाट धरानतर्फ आउँदै गरेको भारतीय बीआर १० पी ९१५४ र एमपी १७ टीए ०५१२ नम्बरको दुई वटा बलेरो गाडीलाई रोकेर चेकजाँच गर्दा दुई वटा गाडीबाट १४९ केजी गाँजा बरामद भएको थियो ।

गाँजा ओसारपसारमा संलग्न रहेका चालकहरू भारत बिहारका ३१ वर्षीय मनोरञ्जन मुइमार, ३९ वर्षीय गोपी मण्डल र गाडीमा सवार रहेका २३ वर्षीय सञ्जय कुमार मण्डल, ३५ वर्षीय रेखा देवी, ३५ वर्षीय रिङ्की देवी, ३५ वर्षीय दया मण्डल, ३७ वर्षीय राजेश मण्डल, ४० वर्षीय पुनम देवी र २४ वर्षीय गुडिया देवीलाई पक्राउ गरिएको छ ।

पक्राउको उक्त घटनामा बीआर १० एजे ४४८६ नम्बरको कार चालक भारत बिहारका २३ वर्षीय सन्तोष साह, कारमा सवार २३ वर्षीय अङ्कित कुमार यादव, राजा जैसवाल, शिवम सिंह र सत्यम यादवको संलग्नता रहेको पाइएकोले उनीहरूलाई पनि प्रहरीले  नियन्त्रणमा लिएको छ ।

बरामद गाँजा, सवारी साधन र पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको बताइएको छ ।