विराटनगर : कवि कृष्णभूषण बल स्मृति प्रतिष्ठानले तीन जना साहित्यकारलाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा वरिष्ठ कवि शैलेन्द्र साकार, गजलकार विवश बलिभद्र कोइराला र कवि उमेश लुइँटेल छन् ।

उनीहरूलाई शनिवार आयोजित कार्यक्रममा प्रतिष्ठानले नगद सहित सम्मान गरेको हो । कवि साकारलाई २५ हजार, कोइरालालाई १५ हजार र लुइँटेललाई ११ हजार राशिले सम्मान गरेको छ ।

पुरस्कृत कविहरूलाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, प्राध्यापक कविराज न्यौपाने र प्रतिष्ठानकी संरक्षक शोभा लामा बलले दोसल्ला ओढाएर सम्मान पत्र र नगद प्रदान गरेका हुन् ।

मेयर कोइरालाले कवि कृष्णभूषण बलले आफ्ना सिर्जना मार्फत लोकतन्त्र र विकेन्द्रीकरणका पक्षमा आवाज उठाएको उल्लेख गरे ।

प्राध्यापक कविराज न्यौपाने, आयोजक संस्थाका अध्यक्ष प्राध्यापक डाक्टर टङ्क न्यौपाने, उपाध्यक्ष केशव आचार्य, महासचिव विवश पोखरेल, वरिष्ठ कवि जसराज किराँती लगायतले नेपाली कविता साहित्यमा कृष्णभूषण बलको योगदान अतुलनीय रहेको चर्चा गरेका थिए ।